गृहपृष्ठ युरोकप : नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा
युरोकप : नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा
एजेन्सी । चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।
पुस्कास एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो ।
बक्स बाहिर हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायताबाट उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाएका थिए । भीएआर अघि उनलाई पहिलो कार्ड मात्र दिईएको थियो ।
नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएपछि चेक रिपब्लिकले फाईदा उठायो ।
खेलको ६८ औं मिनेटमा टोमसले गोल गर्दै चेक रिपब्लिकलाई १-० को अग्रता दिलाए । टोमस कालसको पासमा उनले हेडरमार्फत गोल गरे ।
त्यसपछि खेलको ८० औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए । उनले टोमस होल्सको पासमा गोल गरेका हुन् ।
जारी युरोकपमा शिकको यो चौंथो गोल हो ।
अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।






