२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ युरोकप : बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

युरोकप : बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

एजेन्सी । इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो  ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए  । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

त्यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले मान्यता पाएन । भीएआरबाट बुनिची अफसाइड देखिएका थिए ।

खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २-१ ले आफ्नो बनायो ।

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार