२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ नेपालकै सबैभन्दा बढी रिक्सा हुने सहरबाट रिक्सा हराए

नेपालकै सबैभन्दा बढी रिक्सा हुने सहरबाट रिक्सा हराए

एक समय नेपालमा सबैभन्दा बढी रिक्सा भएको सहर थियो विराटनगर । विराटनगर सेरोफेरोको दैनिक जीवन धानेको थियो रिक्साले । विराटनगरका गल्ली कुना–काप्चा कहाँ पुग्दैनथे रिक्सा ! विरोध–जुलुस, र्‍याली, प्रदर्शन सबैमा लाइन लाग्थे रिक्सा । बिहे–बटुलो, भोज–भतेर सबै रिक्साले धानेका थिए । तर हेर्दाहेर्दै यो कथाजस्तै भयो ।

रिक्सै रिक्साको सहर विराटगरका रिक्सा अचेल सडकबाट हराएका छन् । एक दशकको बीचमा रिक्साविहीन भएको विराटनगरका त्यत्रा रिक्सा कहाँ गए ? हिजोका रिक्सा–चालकहरू आज कसरी जीवन धानिरहेका होलान् ? नयाँपुस्ताका लागि चासोको विषय बनेको छ ।

रिक्सै–रिक्साका कारण हिजो बाटो काट्नसमेत गाह्रो हुन्थ्यो विराटनगरमा । नगरप्रहरी र ट्राफिकका लागि रिक्सा व्यवस्थापन दिनदिनैको ‘टाउको दुखाइ’ नै बनेका थिए चालकहरू । तर हिजो रिक्साको त्यो भिडभाड देखेकाहरू आज बाटोमा कुनै रिक्सा देखिए ‘नोस्टाल्जिक’ हुने अवस्था छ । काठमाडौँको ठमेलमा जस्तो विराटनगरको सडकमा सजिसजाउ भएको कुनै रिक्सा देखिए आगन्तुक/पर्यटकका लागि रहरिलो सवारीसाधन हुनसक्छ ।

‘आजकल रिक्सा लिएर त्यति निस्कन्न, कहिलेकाहीँमात्र निस्कन्छु । भएको रिक्सा पनि अब त जाम हुन थालिसक्यो,’ कटहरीका शिवा कामतले भने, ‘मान्छे चढ्नै छोडे । सामान पाइयो भने दुई–चार पैसा हुन्छ ।’

विराटनगरको सडकमा पाँच दशकभन्दा बढी समय रिक्सा दौडाएका उनी आजकल छोराको कमाइमा आस्रित छन् । पहिलाजस्तो रिक्सा चलाएर परिवार पाल्न नसकिने उनी बताउँछन् । सिटी सफारी र अटो छ्याप्छ्याप्ती भएपछि मानिसहरू रिक्सा चढ्न छाडेको उनको अनुभव छ । उनीसँगै रिक्सा चलाउने उमेर हुने र सक्ने साथीहरूले अन्य पेसा अँगालेको उनले बताए ।

विराटनगरको सडकबाट सिटी सफारी र अटोले पाइडिलवाला रिक्सा लगभग विस्थापित गरेको छ । त्यस समयमा विराटनगरका मात्र नभएर नजिकका गाउँबाटसमेत रिक्सा आउँदा यहाँ रिक्साको भिडभाड र रमिता हेर्नलायक हुन्थ्यो । त्यसमा सीमावर्ती भारतीय बजार जोगबनीबाट समेत थपिन्थे ।

विराटनगर नगरपालिकाले नयाँ रिक्सा दर्ता नगरेको एक दशक हुनलाग्यो । त्यसअघि २३ हजार १३ वटा रिक्सा दर्ता रहेको अभिलेख नगरपालिकामा छ । सेरोफेरोबाट आएर विराटनगरको सडक ओगट्नेहरूको सङ्ख्या पनि त्यही हाराहारीमा थियो । तर अहिले अवस्था फेरिएको छ, नयाँ रिक्सा दर्ता त के पुरानै रिक्साले अनुमति–पत्र नवीकरण नगरेको पनि आधा दशक भइसक्यो ।

रिक्सामा सामान बोकेर गुजारा गर्ने गरेका रिक्सा–चालक रामनारायण मण्डल सहरभित्र मानिसको यात्रा गर्ने शैली बदलिएको बताउँछन् । रिक्सामा पहिलाजस्तो मानिस चढ्नै छाडेको गुनासो गर्दै मण्डलले भने, ‘पहिला रिक्सामा मानिस बोक्दा दिनको पाँच/सात सय रुपैयाँ सजिलै हुन्थ्यो, अहिले दुई/चार सय पुर्‍याउन पनि निकै मुस्किल हुन्छ ।’

रिक्सामा कमाइ हुन छोडेपछि विराटनगरका रवि साह दुई वर्षदेखि सिटी सफारी चलाउँछन् । ‘सिटी चलाउँदा रिक्सामा जस्तो छातीमा परिश्रम पर्दैन,’ उनले भने, ‘रिक्साको भन्दा कमाइ पनि राम्रो छ ।’ उनले पहिला चलाउने गरेको रिक्सा घरमै थन्किएको छ । खिया लागेर काम नलाग्ने भइसकेको छ । ‘पहिला मैले कुदाएको रिक्सा कबाडीमा बेचेको छैन । घरमै थन्क्याएको छु,’ उनले भने ‘घरमै सडिरहेको छ ।’

रविका बुवा पनि रिक्सा चालक हुन् । कमाइ हुन छोडेपछि उनका बुबाले मान्छे चढ्ने रिक्सालाई स्वरूप परिवर्तन गरेर ठेला बनाएका छन्, यदाकदा सामान बोक्ने काम पाउँछन् । रिक्सामा मानिस चढ्न छोडेपछि केहीले स्वरूप परिवर्तन गरेर ठेला बनाएको र केहीले कबाडीमा बेचेको उनले सुनाए ।

चार महिनादेखि सिटी सफारी चलाउन थालेका सुशील पासवान पनि पूर्व–रिक्सा चालक हुन् । कमाइ हुन छाडेपछि उनले रिक्सा कबाडीमा बिक्री गरेर फ्याक्ट्रीमा कम गर्न थालेका थिए । फ्याक्ट्री पनि बन्द भएपछि सिटी सफारी चलाउन थालेको सुशीलले बताए । सिटी सफारीबाट हजार रुपैयाँभन्दा माथि नै कमाइ हुने गरेको उनको भनाइ छ ।

गल्ली–गल्ली पुग्ने सयौँको सङ्ख्यामा रहेका रिक्साको स्थान विद्युतीय सवारीले लिएपछि विराटनगरबासीको यात्रा थोरै सहज र छिटो त भएको छ, तर सहरमा वातावरण प्रदूषणको अर्को अध्याय पनि थपिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार