२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ कोपा अमेरिका :उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

कोपा अमेरिका :उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी – कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो ।
ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट गरेको प्रहारलाई उरुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिदै बचाएपनि नियन्त्रणमा लिन नसकेको बललाई लोउटारो मार्टिनेजले भेट्न सकेन ।


१३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।


२५औं मिनेटमा लुइस सुआरेजको क्रसमा इडिन्सन काभानीले नभेट्दै अर्जेन्टिनी गोलरक्षक इमिलियनो मार्टिनेजले खतरा टार्दै अग्रता जोगाएका थिए । ५०औं मिनेटमा फेडे भाल्भेर्डेको क्रसलाई डे ला क्रुजले भेट्न नसकेको बललाई इमिलियानो मार्टिनेजले बचाउँदा उरुग्वे बराबरीबाट चुक्यो । ७५औं मिनेटमा सुआरेजको पेनाल्टी बक्सबाहिरबाट ओभरहेड किकको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा उरुग्वे चुकचुकायो ।

पछिल्लो चार खेलमा अर्जेन्टिनाको यो पहिलो जित हो । पेरुलाई २–० ले हराएपछि अर्जेन्टिनाले चिलीसँग दुईपटक १–१ गोलको बराबरी तथा कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको थियो । उरुग्वेले भने पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । ब्राजिलसँग २–० ले पराजित भएपछि उरुग्वेले पाराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।
जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।


अब अर्जेन्टिनाले समूह चरणको तेस्रो खेलमा २२ जुनमा पाराग्वेसँग तथा उरुग्वेले सोही दिन नै चिलीसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार