२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ ईसीडी शिक्षक र कर्मचारीलाई तलब दिने- नदिने पालिका यि हुन् (हेर्नुहोस्)

ईसीडी शिक्षक र कर्मचारीलाई तलब दिने- नदिने पालिका यि हुन् (हेर्नुहोस्)

काठमाडाैं । नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ता (इसीडी शिक्षक) को मासिक तलब वृद्धि गर्ने घोषणा गर्‍यो । तर, बागलुङका केही स्थानीय तहले अझै उक्त घोषणा कार्यान्वयन गर्न सकेका छैनन् ।

संघीय सरकार र स्थानीय सरकारको सझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ ।

बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धिभएर १५ हजार पुर्‍याइएको छ । विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिए बमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताए ।

सात हजार मासिक तलब खाँदै आएका विद्यालय सहयोगीको तलब मासिक ८ हजार पुगेको छ । यो शिक्षा विभागले पठाउने सशर्त शीर्षकको तलब हो । ११ हजार पाँच सय रुपैयाँ तलब लिँदै आएका विद्यालय कर्मचारीको तलब १३ हजार पाँच सय पुर्‍याइएको छ ।

बजेटले संघीय सरकारले पठाउने बजेटमा स्थानीय तहले साझेदारी गरेर तलब वृद्धि गर्न भनेको थियो । तर, १८ हजार ५०० पाउनुपर्ने विद्यालय कर्मचारीले १३ हजार ५ सय र १५ हजार पाउनुपर्ने विद्यालय सहयोगीले ८ हजार मात्रै पाउने भएका हुन् ।

‘नगरसभाले बजेटको व्यवस्था गरेको रहेनछ, हामीले तोकिएबमोजिम दिन्छौं भनेर भएन, जे आउँछ त्यही दिने हो’, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने ।

तोकिए बमोजिमको तलब नपाएकोमा विद्यालय कर्मचारी र सहयोगी आक्रोशित छन् । ‘अरू के-के गर्न बजेट हुन्छ, श्रमजिवीलाई दिने बजेट नहुने ?’, तलब वृद्धिका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै क्षेत्रीले भने, ‘आन्दोलन हुन्छ, तोकिए बमोजिम तलब पाउनुपर्छ ।’

जिल्लाको जैमिनी गरपालिकाले बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब वृद्धि गरेको छ । तोकिए बमोजिम तलबमा कायम नभए पनि नगरले समेत साझेदारी गरेर तलब वृद्धि गरेको हो । तह अनुसार दुई हजारदेखि सात हजार ५०० सम्म तलब खाँदै आएका विद्यालय सहयोगीको तलब १० हजार र १३ हजार पाँच सय पुर्‍याइएको छ ।

‘कक्षा १ देखि ३ सम्म चलेका विद्यालयका सहयोगीलाई १० हजार र बाँकी सबै सहयोगीलाई १३ हजार ५०० कायम गरेका छौं’, जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘बालविकास सहजकर्ताको १५ हजार र विद्यालय कर्मचारी सबैको १८ हजार ५०० पुगेको छ ।’ यसअघि सहजकर्ताले ६ हजार र विद्यालय कर्मचारीले ११ हजार ५०० तलब लिँदै आएका थिए ।

काठेखोला गाउँपालिकाले पनि पालिकाको बजेट अनुसार तलब वृद्धि गरेको छ । बालविकास सहजकर्ताको तलब शतप्रतिशत वृद्धि गरेर १२ हजार पुर्‍याइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए ।

शिक्षा विभागले उपलब्ध गराउने आठ हजारमा गाउँपालिकाले चार हजार थप गरेको हो । विद्यालय सहयोगीका लागि भने तहअनुसार नौ हजार, १२ हजार र १३ हजार पुर्‍याइएको छ । यसअघि उनीहरुले चार हजार, चार हजार ५०० र सात हजार ५०० पाउँदै आएका थिए ।

प्राथमिक, आधारभूत र माध्यमिक गरेर तीन तहमा कार्यरत विद्यालय सहयोगीले तह अनुसारको तलब वृद्धि गरिएको हो । विद्यालय कर्मचारीको लागि १७ हजार पुर्‍याइएको छ ।

‘बजेटको स्रोत अनुसार वृद्धि भएको छ, एकै पटक ठूलो आर्थिक भार थेग्न पनि गाह्रो छ’, उनले भने । बरेङ गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाले पनि तलब वृद्धि गरेका छन् । अन्य स्थानीय तहले भने तलब वृद्धि भएको विषयमा जानकारी सार्वजनिक गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार