गृहपृष्ठ कोरोनाले शैक्षिक क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव
कोरोनाले शैक्षिक क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव
चीनको वुहान शहरबाट डिसेम्बर २०१९ मा चाइनाको वुहान सहरलाई इपिसेन्टर बनाएर पहिलो पटक मानव जातीमा नोभल कोरोना (कोभिड १९) भाइरसको केस पहिचान पश्चात् सुरुका दिनमा चाइना,फ्रान्स, इटली, इरान,दक्षिण कोरिया मलेसिया,स्पेन,थाइल्यान्ड, युके,युएसए जर्मनी,अस्ट्रेलिया र अमेरिकामा यसको फैलावट भएपनी कोरोना भाइरस महामारीबाट विश्व आक्रान्त भएको थियो । नेपालको सन्दर्भमा ९ जनवरी २०२० मा चाइनाको वुहान शहरबाट नेपाल फर्केका एक जना नेपाली विद्यार्थीमा सहिद शुक्रराज ट्रपिकल सेन्टरले २३ जनवरी,२०२० मा परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिने कक्षा १० को विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा परीक्षा गरियो भने ११ को परीक्षा संचालनको जिम्मा विद्यालयलाई दिईएको थियो त्यस्तै कक्षा १२ को राष्ट्रिय परीक्षा अर्को सूचना नभएसम्मका लागि रोकिएको थियो ।
विद्यार्थी,शिक्षक,अभिभावक तथा सरोकारवालाहरुमा मनोवैज्ञानिक सन्त्रास व्याप्त रहेको छ । यसैगरी सामुदायिक विद्यालयमा पढ्ने धेरै जसो विद्यार्थीहरु दैनिक ज्याला मजदुरी गर्ने न्युन आय वर्गका परिवारका छन् । लकडाउनको यस परिस्थितीमा उनीहरुको परिवारमा हातमुख जोर्ने समस्याले विद्यार्थीहरुमा पर्ने मनोवैज्ञानिक असर र त्यस पछिको सिकाइमा यसले पार्ने गम्भीर असर अर्को महत्वपूर्ण पक्ष हो ।
विश्व जगत् अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा क्षतविक्षत हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक क्यालेन्डरको समेत क्रमभङ्गता भएको छ भने शिक्षा प्रणाली नै निष्प्रभावी र अनुत्पादक सिद्ध भएको छ । यद्यपि विद्यालय शिक्षामा कोरोना कहरको प्रभावलाई नकारात्मक र सकारात्मक ढङ्गबाट बुँदागत रूपमा यसरी संक्षेपिकरण गर्न खोजिएको छ |
सकारात्मक प्रभाव
– शिक्षा क्षेत्रको प्राथमिकता, मेडियम अफ कन्स्ट्रक्सन, मेडियम अफ डेलिभरी सिस्टम ,विद्यालय शिक्षामा रिफ्रेमिङ्ग र रिस्टक्चरिङ्गको लागि सुवर्ण अवसर प्राप्त भएको छ, जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतको प्याराडाइज्मि सिफ्ट हुने देखिन्छ ।
– डिजिटल डाइनास्वर प्रवृत्तिका मौजुदा शैक्षिक जनशक्ति र स्क्रिनयुगिन सिकारुका बिचमा हाम्रो शिक्षा प्रणालीले अपडेट गर्ने अवसर प्राप्त गर्दै छ ।
– शिक्षा प्रणालीको प्याराडाइज्म सिफ्ट हुदैछ भने शिक्षा क्षेत्रमा गरिँदै आएको राष्ट्रिय लगानी र प्राथमिकतामा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ ।
– समय परिवेशअनुसार आफूलाई अद्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक माध्यमको प्रयोग मार्फत सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सकारात्मक सन्देश प्राप्त भएको छ ।
– सिक्ने (विद्यार्थी) र सिकाउने (शिक्षक ) दुवै पक्षलाई शिक्षण सिकाइका सवालमा प्रविधि मैत्री बन्नका लागि प्रेरित गरेको छ ।
– प्रविधिको उपयोग गर्ने बानीको विकास हुन थालेको छ । जहाँ अनलाइन अफलाइन मोडमा शिक्षण सिकाई मार्फत सिकाइलाई निरन्तरता दिने अवसर प्राप्त भएको छ ।
– पहुँच र प्राप्यताका आधारमा रेडियो, स्थानीय एफ.एम. टेलिभिजन र इन्टरनेट मार्फत अनलाइन क्लास, भर्चुअल क्लास र जुम मिटिङ जस्ता वैकल्पिक सिकाइ माध्यमका लागि वातावरण तयार हुदैछ ।
– शिक्षण सिकाइका लागि बडेमानका भौतिक पूर्वाधार मात्र पर्याप्त होइन, जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलपूर्ण उपयोगिता तर्फ समेत ध्यान आकर्षण भएको छ ।
– प्रविधिको उपयोगमार्फत स्व:अध्ययन गर्ने बानीको विकास भएको छ ।
– सिकाइ सहजीकरण, सियरिङ्ग र क्षमता विकासको पर्याप्त अवसर प्राप्त भएको छ ।
– सिकारुका लागि विद्यालय भित्रको औंपचारीक पढाइ मात्र पर्याप्त होइन हाम्रा घर, टोल र समाजलाई समेत ज्ञान आर्जनका थलोका रूपमा विकास गर्दै सिकाइ गर्नुपर्ने मान्यताले स्थान पाएको छ ।
– अभिभावक र विद्यार्थीका बिचमा दोहोरो जबाफदेहिता अभिवृद्धि भएको छ । विद्यार्थीले घर परिवारबाट जीवनका मूल्य, संस्कार र व्यवहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेका छन् ।
– हिजोका दिनमा हाम्रा नानी बाबुले कार्टुन र पब्जीका लागि प्रायजसो प्रयोगमा ल्याइएका हाम्रा ल्यापटप, स्मार्ट फोन जस्ता विद्युतीय उपकरणलाई सिकाइका लागि सिर्जनात्मक ढङ्गबाट (वीथफन ) उपयोग गर्ने अवसर प्राप्त भएको छ ।
नकारात्मक प्रभाव
– समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुन गई १५ औ योजनाको लक्ष्य, दीर्घकालीन सोच – २१०० र दिगो विकास लक्ष्यमा चित्रण गरिएको शिक्षाको गन्तव्य समेत प्रभावित हुने देखिन्छ ।
– देशभरका सामुदायिक संस्थागत र धार्मिक गरी जम्मा जम्मी ३५०५५ विद्यालयहरू विगत तीन महिनादेखि कतै प्रयोग विहीन छन् भने ,कतै महामारी व्यवस्थापनका केन्द्र बन्न बाध्य छन् । जसको फलस्वरुप: विद्यालय पुनः सञ्चालनमा आउन निकै समय कुर्नु पर्ने देखिन्छ ।
– बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ ।
– कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ ।
– डब्लुएफओका अनुसार, अति विपन्न राष्ट्रका बालबालिका दिन भरीको एक छाक खानाको लागि प्राय: विद्यालयको भर पर्दछन् । तर अहिले कोभिड- १९ का कारण विद्यालय बन्द भएसँगै संसार भरका करिब ३७ करोड बालबालिकाले पोषणयुक्त भोजन गुमाइरहेका छन् ।
दिवा खाजा कार्यक्रम लागु गरिएका जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी उक्त कार्यक्रमबाट विगत ५ महिना देखि प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने अवस्था सामान्य नभएमा आर्थिक वर्ष ०७७/०७८ को बजेट वक्तव्य अनुसार ७७ जिल्लाका २८ लाख बालबालिका समेतले उक्त अवसर गुमाउने छन् । जसको असर विद्यार्थीको आर्थिक, शैक्षिक र पोषणमा समेत पर्न गई शिक्षणका क्षेत्रमा दीर्घकालका लागि अवसर गुम्ने खतरा देखिन्छ ।
– बढ्दो शैक्षिक असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा , बालश्रम तथा बालविवाह जस्ता जोखिम बढ्ने सम्भावना देखिन्छ ।
– सुरक्षित समय आउनासाथ विद्यालयलाई पुनः सञ्चालन गर्न सकेनौ भने, यसले शिक्षामा अपूरणीय क्षति हुने सम्भावना उच्च रहन्छ ।
– बालबालिकाले विद्यालयबाट अहिले सम्म हासिल गरेका सिकाइ उपलब्धिहरू गुम्ने खतरा त्यतिकै देखिन्छ ।
– शिक्षण सिकाइमा भएको क्रमभङ्गताका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर परी तत्काल शिक्षण सिकाइमा जीवन्त सहभागिताका लागि प्रेरित हुन सक्ने सम्भावना न्यून देखिन्छ भने अभिभावकहरू आफ्ना सन्ततिको भविष्य प्रति चिन्तित भएको देखिन्छ ।
– विशेषगरी निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूको अनपेक्षित रूपमा क्षति वृद्धि भई यसको दीर्घकालमा नकारात्मक प्रभाव पर्ने हुँदा जसको मारमा विद्यार्थी र अभिभावक समेत पर्ने अवस्था रहेको छ ।
लेखक यादव चन्द्र विस्ट शिक्षा अधिकृत हुनुहुन्छ ।






