गृहपृष्ठ “मान्छे राख्ने मन्दिर बनाउँछु”
“मान्छे राख्ने मन्दिर बनाउँछु”
-कविता-
आमा ! साढे सात विलियनको माझमा
म साढे पाँच फिट उचाई नभएकीले
साढे सात शब्दका कुरा राख्न मिल्छनी
बाबाले ! देश बनाउन राजनीति गर्नुभयो ,
दादाले ! देशको रेमिटेन्स बढाउन बिदेश लाग्नुभयो ,
हजुरकी बेरोजगार छोरी, इन्जिनियरिङ पढेकी
मलाई अनुमानि दिनुहोस् आमा म अब
” मान्छे राख्ने मन्दिर बनाउँछु ”
ब्यक्ति त्यो पनि म जस्तै इन्जिनियर
पढेलेखेको हुनुपर्छ ,,
जसले ! धर्म बनायो , देश बनायो ,
घर बनायो , जातजाति बनायो
ब्यक्ति मात्र एक ब्यक्ति जो बौद्धिक
बलियो हुनुपर्छ ,,
जसले ! तेरोमेरो बनायो ,
जे बनायो गजब बनायो , गलत बनायो
सक्षम अति ! बनाउनेले त बनाएको थियो
हावा, पानी ,दिनरात , घामछाया ,
प्रकुती सुन्दरता , मनतन , सबैसबै
मलाई अनुमति दिनुहोस् आमा म अब
” मान्छे राख्ने मन्दिर बनाउँछु ”
कुनै धर्मको कानुनले रोक्नेछैन,
कुनै सस्कारले छेक्नेछैन
” आमा ” म
यस्तो बेलामा जन्मिएकी सन्तान हुनी
मेरो देशमा ! राजाहरूको राज चलेको थियो
मेरो देशमा ! राणाहरुले पनि शासन गरेकै थिए
मेरो देशमा ! बाउले छोरालाई ,
छोराले बाउलाई मार्नेसक्ने युद्धपनि भएको थियो ,,,,
मेरो देशमा ! जनताको राजपनी चल्यो
मेरो देशमा ! अझै महिला रास्ट्रपति हुनुभयो
के भएन भनुहोस आमा म जन्मेपछी
सबै देखेका यी आखाले , सबै गर्न सक्नेछन्
मलाई अनुमति दिनुहोस् आमा म अब
” मान्छे राख्ने मन्दिर बनाउँछु ”
तपाईंको किन भन्ने प्रश्नमा ?
मेरो उत्तर अलिकति लामो हुनसक्नेछ
” आमा ” मान्छेको मन्दिरमा
मान्छे मात्रै हुनुपर्छ भन्ने हैन रैछ
मान्छेको आकार ,प्रकार , रङ , व्यबहार ,
पृष्ठभुमि पनि हुदोरहेछ ,,,
” आमा ” आफुलाई बेच्नेले
आफ्नालाई बेच्न सक्दैन ” तर ”
आफ्नालाई बेच्नेले आफुलाई पनि
त्यही लालजमा बेचिरहेको हुन्छ
मान्छे भित्रको भोकले ,
मान्छेलाई दिनहु खाइरहेको हुन्छ ,,,,,,,
तर मान्छे लालजको पछिपछि
मलाई अनुमति दिनुहोस् आमा म अब
” मान्छे राख्ने मन्दिर बनाउँछु ”
विभिन्न सिद्धान्तहरुको बिचमा
सिद्धान्त जमाउनेको मुर्ति बनेछ ,
सेतो पहिरनमा बाच्नेको मुर्ति खै ?
भिडमा भिडन्त गर्दै , पलास्टिक टिप्नेको
मुर्ति खै ?
जमिनलाई उर्वर बनाउने किसानको मुर्ति खै ?
बिदेशमा पसिना बेचेर रेमिटेन्स
बढाउनेको मुर्ति खै ?
निश्चित समयको लागि , जन्मिएकि म ,
मर्ने निश्चितै छ ,,,,
” आमा ”
सबैले जे जे बनाए, बनाउन्छन
मलाई अलिकति बचेको मानवता
देख्न सक्ने ,
अलिकति बचेको आत्मीयता बुझ्ने सक्ने ,
अलिकति बचेको देश जोगाउन सक्ने
अलिकति बचेको मानव अस्तित्व बचाउन सक्ने
ती सबै सबैलाई छानीछानी राख्ने मनछ
मलाई मेरो नामको अंश छुटाइ दिनुहोस ,,
म यो बिना बाउको सन्तानलाई
मान्छे राख्ने मन्दिरमा जन्माउन चाहान्छु ,
रगत , पानी , मान्छे चल्नेछ ,,,,,
मलाई अनुमति दिनुहोस् आमा म अब
” मान्छे राख्ने मन्दिर बनाउँछु “





