२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ पश्चिमी जगतको विकासमा श्रीमद्भागवत गीताको प्रभाव

पश्चिमी जगतको विकासमा श्रीमद्भागवत गीताको प्रभाव

आज पश्चिम जुन ठाँउमा पुगेको छ,त्यसमा पूर्वीय दर्शनकोको पनि ठूलो भूमिका देखिन्छ । पश्चिमी दार्शनिक र बैज्ञानिकहरूले पूर्वीय हिन्दु दर्शन र मान्यताको  व्याख्या, विश्लेषण र महत्त्वका बारेमा धेरै चर्चा र अनुशरण गरेको पाइन्छ । विश्वका आधुनिक वैज्ञानिक र दार्शनिकहरू वेद, पुराण, गीता आदिको महत्त्वको बारेमा धेरै सकारात्मक र प्रेरणादायी अभिमतहरू दिएका छन् तर हामी नजिकको तीर्थ हेला अथवा हातमा बत्ति आगो खोज्थी भनेजस्तै कहाँ हो कहाँ फसिए जस्तै बनेका छौँ । आफ्नै मूल्य र मान्यतालाई चिन्न र ग्रहण गर्न नसकेको अवस्थामा छौँ ।

आज हिन्दु धर्मका प्रसिद्ध ग्रन्थहरू हिन्दुका मात्र नभएर विश्वका सम्पूर्ण धर्म वा मानव जातिका जीवन पध्दति वा मार्गदर्शनको लागि महत्त्वपूर्ण श्रोत बनेका छन् । हामी यी ग्रन्थहरू पूजा गरेर पूजा कोठामा मात्र  सिमित गरेका छौँ तर विश्वका समृद्धशाली मुलुक जापान, जर्मन,रुस र अमेरिकाले यसको सार कुरा ग्रहण गरिसकेको देखिन्छ ।

आज संसारमा जुन मुलुक सम्पन्न भनिएको छ, त्यसको मूल कारण हो- कर्म । त्यही कर्म गर फलको आशा नगर भन्ने मूल मर्म नै हिन्दुको प्रसिद्ध र महत्त्वपूर्ण ग्रन्थ गीताको हो । फलको आशा नगर भनेको फलको पछि लागेर जीवनलाई दु:खी वा निराशा नबनाऊ भन्न खोजिएको हो,कर्म गरेपछि स्वाभाविक रुपमा फल फल्छ । पहिले नै यति आउला वा नआउला भनेर हिसाब गर्न खोजियो भने आउने जीवन बेस्वादिलो र दुखदायी हुन्छ, त्यसकारण विरुवालाई मलजल गरी हुर्काएपछि त अनिवार्य फल लाग्छ । कागती रोपेर अमला फल्दैन, कागती नै फल्छ । कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मूल मर्म मानेर नै काम, काम अनि काम भनेर पश्चिमी मुलुकहरू सबै कुरामा सम्पन्न देखिन्छन् ।

गीता एउटा प्रसिद्ध र विशाल ग्रन्थ हो । पाँच हजार वर्ष पहिले व्यास रचित यो एउटा हिन्दुको मात्र धर्म ग्रन्थ नभएर सबैको  जीवन दर्शन ग्रन्थको रुपमा स्थापित भएको छ । हाम्रो जीवनसँग जोडिएका हरेक प्रश्नको उत्तर गीतामा पाइन्छ । सात सय श्लोकमा संरचित गीतामा ज्ञानयोग, कर्मयोग, भक्तियोग, राजयोग आदि थुप्रै कुराको चर्चा गरिएको छ । गीता भनिए तापनि वास्तवमा यो श्रीमद्भागवत गीता हो।गीतबाट गीता बनेको पाइन्छ।देवताको गीत वा गायन वा भनाइ नै गीता हो ।हिन्दुहरूको प्रसिद्ध धर्म ग्रन्थ महाभारतको सार वा संक्षिप्त ग्रन्थ गीता हो । नेपाली बृहत शब्दकोश अनुसार पनि महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान,कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले दिएको उपदेश नै गीता हो। व्यास रचित महाभारतमा कौरव र पाण्डवको १८ दिनको युद्धको वर्णन गरेर १८ पर्वलाई १८ अध्याय नै बनाइएको छ । यसैको सारको रुपमा गीतामा पनि १८ अध्याय नै छ ।

गीताको हरेक श्लोकहरू दार्शनिक छन् । ज्ञान भनेको के हो, कसरी ज्ञानी बन्न सकिन्छ, कर्म भनेको के हो र योगले मान्छेलाई कसरी सुखी र खुशी हुन सकिन्छ अनि दु:ख के हो र यसको निवारण उपायका बारेमा गीतामा प्रष्ट बताइएको छ। गीताको पहिलो श्लोक नै अत्यन्तै सारगर्वित र रहस्यात्मक छ । युद्धको बेला धृतराष्टले सञ्जयलाई  सोधिएको प्रश्न यसप्रकार छ-

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:।
मामका: पाण्डवाश्चैव किमकुर्मत सञ्जय।।

यस श्लोकमा रहेका दुई शब्दहरू धर्मक्षेत्र र कुरुक्षेत्र नै गीताका महत्त्वपूर्ण जीवन दर्शन मानिन्छन् । यहाँ कुरु भनेको कर्म भनी वर्णन गरिएको छ । यसरी धर्म र कर्म नै गीताको मूल मर्म हो ।मानिसभित्र नै धर्मकर्म छन् । मान्छे भित्रको शान्त,आनन्द नै धर्म हो भने विचार,भाव,आकाङ्क्षा, ईर्ष्या, क्रोध कर्म हुन् । गहिरो गरी हेर्दा कुरुक्षेत्रले धर्म क्षेत्रलाई लुकाएको छ। कर्मको गर्भगृह नै धर्म हो । आजको मान्छे कुरु क्षेत्रमा अड्किएको देखिन्छ ।भोलिको जीवन सोच्दा सोच्दै मान्छे दुखी बनिरहेको छ ।

गीताको दर्शनलाई पाठ गरेर मात्र होइन आफ्नो जीवन पध्दतिमा अनुशरण गर्न सक्ने हो भने व्यक्ति,समाज, राष्ट र विश्व नै समृद्ध, खुशी र सुखी हुनसक्छ । गीताका हरेक श्लोकहरू रहस्यमय,व्यावहारिक, दार्शनिक र बैज्ञानिक पनि छन् । विज्ञानको ल्याबमा राखेर हेर्दा पनि प्रमाणित गर्न सक्ने किसिमका छन् । पाश्चात्य मान्यताका कुनै पनि दर्शन भन्दा गीता कम छैन झन्  शक्तिशाली र अद्भूत छ । हामीसँग गीता र अन्य थुप्रै शक्तिशाली दर्शनका ग्रन्थ हुँदाहुँदै  पश्चिमी सभ्यताको अन्धभक्त बनिरहेका छौँ । पूर्वीय दर्शनको अनुशरण गरेर पश्चिमी  मुलुकहरू कहाँबाट कहाँ आइपुगे । हामी आफ्नै धर्मलाई झन साँघुरो पाराले विश्लेषण गर्न खोज्दै छौँ ।

हाम्रा मान्यता परम्परा,संस्कृति ग्रन्थलाई विशाल आँखाले हेरिनु पर्छ । गीतालाई पूजा कोठामा राखी फूल चन्दन अक्षताले पूज्ने मात्र होइन, त्यसमा रहेको दर्शनलाई दैनिक व्यवहारमा लागू गर्नुपर्छ ।धर्मको व्यापक अर्थ छ । धर्म भनेको धारण गर्नु हो,कर्मप्रतिको लगाव र धारणा हो । धारयति इति धर्म भनिएबाट नै प्रष्ट हुन्छ । यो शब्द ‘धृ’ धातुमा मन् प्रत्ययको योगबाट निर्मित  भएको छ।यस शब्दको अर्थ हो : धारण गर्नु अर्थात् आफ्नो  कर्तव्य पालन गर्नु । मानव हुनुको कर्तव्य, देशको नागरिक हुनुको, समाजको सदस्य हुनुको, परिवारको सदस्य हुनुको, बाबु, आमा, छोराछोरी, दाजुदिदी, भाइबहिनी, बुहारी आदि नातादेखि, गुरू, शिष्य, हाकिम, कर्मचारी आदि इत्यादि हुनुको कर्तव्य र उसले गर्नुपर्ने आदर्शपूर्ण भूमिका नै धर्म हो ।

धर्मका श्रोत ग्रन्थहरूमा हामीले गर्न हुने र नहुने कुराहरू बताइएका छन् । वस्तुतः हरेक व्यक्तिले पूरा गर्नुपर्ने दायित्व नै आफ्नो स्वधर्म हो । धर्म भनेको धारण  गर्नु हो र  कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव पनि हो । आगोको धर्म तातो हुनु हो भने  मानिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुनजान्छ । मानव मानवता  हुनु नै   धर्म हो । जब मान्छेले मानवता देखाउँछ त्यही धर्म हो । मान्छे हुनुको कारणले मान्छेको व्यवहार नै मानवीय धर्म हो । धर्मका विशाल भेद र प्रकार भएकोले यसको गहिराइतिर जाने प्रयत्न गर्नुपर्छ । धर्म गर्दा चाहिने प्रमुख कुरा भनेको स्वच्छ आत्मा हो।स्वच्छ र सफा आत्माले धर्म गरिन्छ तब प्रतिफल पाइन्छ ।

धर्मको पहिलो प्राप्ति भनेको आत्म सन्तुष्टि हो । आत्मसन्तुष्टि हुनु नै वास्तविक जीवन हो । बाहिरी कुराहरू त जति मिहिनेत  गर्यो त्यसैमा भर पर्ने कुरा हो । अरुलाई जति माया दिनुहुन्छ त्यति पाउनुहुन्छ, धेरै मिहिनेत गरी पढ्यो भने स्वाभाविक राम्रो अङ्क आउँछ । जब परीक्षा नदिदै कति नम्बर आउला भनेर सोच्न थालिन्छ अनि मन दुखी हुन्छ । स्वच्छ र सफा खाइन्छ भने रोग लाग्दैन, दान दिनुहुन्छ आत्म खुशी हुन्छ । केरा लगाउने अनि आँप खोज्ने जस्तो यात्रामा जीवनलाई लगाउनु हुँदैन । केरा खान केरा नै लगाउनु पर्छ ,जति मिहिनेत गर्यो त्यति राम्रो केरा अवश्य फल्छ ।

घरमा वा मन्दिरमा  पूजापाठ गरेरमात्र धर्म प्राप्त हुँदैन । यो त एउटा आत्मसन्तुष्ट गराउने एउटा मात्र  माध्यम हो । यस्ता धेरै माध्यम अपनाएर बल्ल धेरै  धर्म गर्न सकिन्छ । आत्मसन्तुष्टि हुन्छ र मोक्ष प्राप्त हुन्छ । पढ्नु, पढाउनु, दान दिनु, पूजा गर्नु , सेवा गर्नु, माया गर्नु आदि धर्म हुन् । धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्मका विशेषता हुन् । बोक्रे आडम्बरबाट धर्म हुँदैन । मनभित्र पाप छ, शुद्ध हुन्छु भनेर सप्ताह लगाएर धर्म हुँदैन । मन शुध्द भई स्वच्छ मनले कर्म गरी गरिब दुखीलाई सेवा गर्छ भनी त्यही ठुलो धर्म हो । कसैको आँसु पुछ्न सकिन्छ भने त्यही धर्म हो । यस्ता थुप्रै विचार र दर्शनहरू गीतामा पाइन्छन् ।

हिन्दुको श्रोत ग्रन्थ नै वेद हो । हिन्दुका ग्रन्थहरूमा कहीँ पनि हिन्दु शब्दको प्रयोग गरिएको भने छैन । वेद, गीता, महाभारत, रामायण आदि कुनै पुस्तकमा हिन्दु नभनिए तापनि सिन्धुबाट हिन्दु भनिएको हो, समयक्रममा भन्दै जाँदा हिन्दु शब्दलाई ग्रहण गरी स्विकार गरिएको हो । अहिलेको हिन्दु धर्म वैदिक सनातन धर्म हो । पूर्वका धेरै मान्यतालाई अनुशरण पश्चिमले गरेको सन्दर्भमा रुन्चे अनुहार लगाएर बसियो भने हामी अझै पछाडि धकेलिने सम्भावना देखिन्छ । मन,वचन र कर्मले आफ्नो धर्म निभाउन सकियो भने जीवन सुखी र खुशी हुनसक्छ । समाज र देश पनि धेरै समृद्ध हुन्छ ।

आज कर्मलाई पहिलो प्राथमिकता दिँदा पश्चिमी मुलुकहरू समृद्धशाली भएका छन् । उनीहरूको मूलमन्त्र काम,काम र काम नै हो। गीताको सार पनि कर्म वा काम नै हो । हाम्रो देशको मूल मन्त्र भने यसको ठिक विपरित गफ,ठग र लुट छअनि कसरी समृध्द बनोस् । व्यक्ति, समाज र राष्टको उन्नति र प्रगतिको लागि पूर्वीय मान्यताका धार्मिक र दार्शनिक ग्रन्थको मर्मलाई अनुशरण गर्नुपर्छ । भौतिक बिज्ञानका नियमहरू जसरी सूत्रात्मक छन् त्यसैगरी गीतामा पनि जीवन दर्शनका कुराहरू सूत्रात्मक, गाम्भीर्य, रहस्यात्मक र वैज्ञानिक  छन् । तिनलाई मनन् गरी जीवन र जगतलाई सुन्दर बनाउनु पर्छ । मन सफा गरी काम गर्न  सक्ने हो भने क्षणभरमा नेपाल  समुन्नत बन्न सक्छ र हामी सुखी बन्न सक्छौँ ।

 बुटवल -१३, जितगढी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार