गृहपृष्ठ जलवायु परिवर्तनले नेपालमा पारेको असर र कोप-२६
जलवायु परिवर्तनले नेपालमा पारेको असर र कोप-२६
पुर्खौ देखि निरन्तर बगिरहेका खानेपानी र सिँचाइका मुहानहरू सुक्नु ,वर्षायाममा धेरै ढिलो पानी पर्न थाल्नु, बेमौसमी पानी पर्नु, जङ्गलमा अत्यधिक डढेलाे लाग्न थाल्नु, केही रुख विरुवाहरू लोप भएर जानु,अन्न उत्पादनमा अत्यन्तै ह्रास देखिनु ,अन्न र फलफूल लगायत तरकारी खेतीमा नयाँ नयाँ रोगहरू देखिनु र मानिसलाई पनि नयाँ नयाँ रोगहरूले आक्रमण गर्न थाल्नु आदि जस्ता लक्षण नै जलवायु परिवर्तनका असर हुन् । विश्वमा बढ्दै गएको औद्योगिक विकाससँगै वातावरणीय प्रदूषण भई वायुमण्डलमा हरितगृह ग्याँस,कार्बनडाइ अक्साइड ग्याँस, नाइट्राेजन, मिथेन,क्लोरोफ्लोरोकार्बन आदिले पृथ्वीलाई प्रदूषित बनाउनाले यस्ता थुप्रै समस्याहरू हामीले भोग्नु परेको छ । यस्ता समस्या निराकरणका बारेमा रार्ष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बहस र सम्मेलन भइरहेको पाइन्छ ।
यसै सन्दर्भमा अहिले स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त रास्ट्रसंघको आयोजनामा विश्वव्यापी सम्मेलन कोप -२६ चलेको छ । यो २६ औं सम्मेलन हो । यो अक्टाेवर ३१ देखि नोभेम्बर १२ सम्म चल्ने छ । यसलाई कोप २६ भनिएको छ । कोपको अर्थ कन्फरेन्स अफ पार्टिज हो । विश्वका सरकार र रास्ट्रप्रमुखको सहभागितामा यो सम्मेलन चलेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवाले यो सम्मेलनमा सहभागी भएका छन् । कोपको इतिहासलाई हेर्दा यसको पहिलो सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनमा भएको थियोे जसलाई कोप-१ भनिन्छ । जलवायु भनेको कुनै पनि स्थानको प्राकृतिक वा वातावरणीय स्थिति हो भने जलवायु परिवर्तन भन्नाले प्राकृतिक र वातावरणीय अवस्थामा देखिने फेरबदल हो । पछिल्लो केही वर्षमा पृथ्वीको तापक्रम बढिरहेको हुनाले सम्पूर्ण जीव र जगत प्रभावित भएको छ ।
भर्खरै पनि नेपालमा बेमौसमी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियोे,यस्तो हुनुको मूल कारण नै जलवायु परिवर्तन हो । जलवायु परिवर्तन हुनुको मुख्य कारण भनेको कार्बन उत्सर्जनलाई मानिन्छ। कार्बन उत्सर्जनले गर्दा पृथ्वीको तापक्रम बढिरहेको छ । यसले झन ठूलो खतरा निम्त्याउने स्थिति रहेको वातावरणविद्ले व्यक्त गरेका छन् । विशेषत: विश्वका धनी र ठूला देशहरूले अत्यधिक कार्बन उत्सर्जन गरेर गरिब र विकासशील मुलुकहरू संकटमा परेका छन् । खासगरी चीन, अमेरिका,भारत,रसिया,जापान जस्ता विकसित मुलुकहरूले नै सबैभन्दा धेरै प्रदूषण उत्पादन गरेर विश्वको तापक्रम बढाएका छन् । उनीहरूले ऊर्जा उत्पादनको लागि कोइलाको अत्यधिक प्रयोग गर्नाले यसबाट जलवायुमा परिवर्तन र जलवायु प्रदूषण भएको देखिन्छ ।
जलवायु परिवर्तनका कारण पृथ्वीमा पर्ने प्रभाव भनेका हिउँ र हिमनदीहरू पग्लिनु,आँधी र ठूलो वर्षा हुनु,अत्यधिक गर्मी हुनु, जीवजन्तु र प्राणीको लोप हुनु,समुन्द्रको पानी अमिलो भएर माछा लोप हुनु,अनाबृष्टि,अतिबृष्टि,खडेरी,बाढीका कारण उत्पादनमा ह्रास,डढेलोमा वृद्धि,वन जङ्गलमा बाह्य प्रजातिका विरुवाको अतिक्रमण,जैविक विविधतामा नकारात्मक असर,तातो र चिसोको लहर लामो समयसम्म रहिरहनु, गर्मी यामको समय बढ्नु र जाडाे यामको अवधि घट्नु आदि थुप्रै रहेका छन् ।
एक शोध अनुसार जलवायु परिवर्तनबाट प्रभावित प्रमुख दश देशमा नेपाल दशौ नम्बरमा पर्दछ भने यसैका कारण वर्षेनी नेपालमा ४२ हजारको ज्यान गएको देखिन्छ । नेपालकै सन्दर्भमा जलवायु परिवर्तन निकै चुनौतीपूर्ण देखिन्छ । नेपालको राजधानीकै कुरा गर्दा काठमाडौंको औषत वायुप्रदूषण मापदण्ड भन्दा दश गुणा बढी देखिन्छ । नेपालमा तापक्रम वृद्धिदर उच्च नै रहेको छ । नेपालको तापक्रम वार्षिक औषत ०.०५६ वृद्धिदर रहेको छ । नेपालमा हिउँको भण्डार २९ प्रतिशतले घटेकाे र हिमतालको संख्या ११ प्रतिशतले बढेको छ त्यस्तै उत्पादनमा १० देखि ३० प्रतिशतसम्म ह्रास आएको विभिन्न तथ्यांकबाट थाहा पाउन सकिन्छ ।
यसरी जलवायु परिवर्तन विश्वकै ठूलो समस्याका रुपमा मौलाउँदै गएको छ । यसको समाधानको मूल उपाय भनेको कार्बन उत्सर्जन घटाउने,वन विनाशलाई रोक्ने,बिद्युतीय सवारीको प्रवर्द्धन गर्ने,कोइलाको प्रयोग घटाउने नै मुख्य देखिन्छन् ।
बुटवल -१३, जितगढी






