गृहपृष्ठ एमालेको १० औं महाधिवेशन; कर्मकाण्डी प्रक्रिया र सर्वसम्मतको रटान
एमालेको १० औं महाधिवेशन; कर्मकाण्डी प्रक्रिया र सर्वसम्मतको रटान
यही मंसिर १० देखि १२ सम्म चितवनमा हुन गइरहेको एमालेको १० औं महाधिवेशन एउटा कर्मकाण्डी प्रक्रिया मात्र हो । यस महाधिवेशनको लागि प्रतिनिधि चयनदेखि पदाधिकारी चयनमा केन्द्रदेखि वडासम्म सर्वसम्मतको रटान चर्को रुपमा सुनिएको छ । यसरी प्रजातान्त्रिक पार्टीमा बारम्बार सर्वसम्मत भन्नुको पछाडि गुह्य कुरा लुकेको प्रष्ट देखिन्छ । एक त तत्कालको लागि प्रतिस्पर्धा गर्ने केही समूह छुट्टिएर अलग्गै बसेको अवस्था छ। लोकतान्त्रिक प्रणालीमा पार्टी बलियो हुने भनेको स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो । पार्टीभित्र आन्तरिक लोकतन्त्र हुन सकेन भने पार्टी बलियो र जीवन्त बन्न सक्दैन। मिलेमतो,आलोपालो र टीके प्रणालीले पार्टीलाई बलियो भन्दा झन कमजोर बनाउँछ। एमालेमा केन्द्रबाट नै ठाडो निर्देशन दिएर सर्वसम्मतको भजन घन्काइएको छ ।
यो सबै ओलीको बोली हो । यसपाली ओलीको बोलीलाई काट्न सक्ने सामर्थ्य कसैमा छैन, बोल्नेहरू छुट्टिसकेको हुनाले ओलीलाई पनि निर्धक्क छ र भन्दै छन् सर्वसम्मत। पार्टीभित्र प्रतिस्पर्धा गर्नेहरू नै नभएको अवस्थामा सर्वसम्मत त स्वाभाविक नै देखिन्छ। यो महाधिवेशनमा बिगतमा जस्तो पार्टीको वैचारिक बहस र नेतृत्वको प्रतिस्पर्धा हुँदैन। महाधिवेशनमा नेतृत्वमा को आउला, कसले जित्ला र कस्तो वैचारिक बहस र सिद्धान्त अनुमोदन होला भनेर जिज्ञासा वा कौतूहलता नै छैन । यसभन्दा पहिले नै विधान महाधिवेशन सम्पन्न गरी नेतृत्व घोषणा गर्न बाँकी रहेको मात्र हो । प्रायः कमिटीमा टीका प्रणाली अपनाएको हुनाले पनि सर्वसम्मतको भैलो घन्किएको हुनुपर्छ । सर्वसम्मतको मूल केन्द्र भनेको ओलीका विरुद्ध कोही हिम्मत गर्न पाँईदैन, जसरी पनि ओली निर्विकल्प अध्यक्ष हुन् भन्न खोजिएको हो। पार्टीभित्रका केही खड्कदेव र ओलीको वरिपरि घुमेर जयजयकार गर्नेहरूलाई औपचारिक घोषणा हुनका लागि महाधिवेशन लागेको होला नत्र अरू सर्वसाधारण,सामान्य कार्यकर्ता शुभेच्छुकलाई कुनै जिज्ञासा, चासो र गन्थन नै देखिँदैन। किनभने महाधिवेशन पछिको नेतृत्वको नाम निश्चित नै छ, सिद्धान्तमा नाम जे दिइए तापनि विधान महाधिवेशनको नाममा पहिले नै ओलीवाद पास गराएर राखिएको छ ।
जसरी जुन रीतले विधान अधिवेशन भयो यस महाधिवेशनमा पनि त्यही नै हुने पूर्व संकेत देखिएको छ। औपचारिकता पुरा गर्ने अभिप्रायले एमालेले आफ्नो महाधिवेशन सम्पन्न गर्न एक्सप्रेस गतिमा काम अगाडि बढेको देखिन्छ। एमालेले २०७८ फागुनभित्र जसरी पनि ओलीलाई अध्यक्ष घोषणा गर्नुपर्ने देखिन्छ किनभने फागुनपछि ओलीले ७१ मा पाइला टेक्छ्न्। यो महाधिवेशन भनेको औपचारिक रुपमा ओलीलाई निर्विकल्प अध्यक्ष घोषणा गराउने र अरू ओलीले आफ्ना खल्तीका मान्छेलाई सर्वसम्मत टीका लगाउनु बाहेक केही नयाँ हुँदैन। चितवनमै रहेको प्रसिद्ध तीर्थस्थल अयोध्यापुरीमा एकदिने महाधिवेशन गरेको भए आर्थिक दृष्टिकोणले पनि अति उत्तम हुने थियोे । यसपालि ओलीको र ओलीलाई सर्वसम्मतको रटानले ओलीका सारथीहरू नै सर्वोच्च पदमा जान त परै जाओस् प्रतिस्पर्धा गर्न समेत नपाउने भएका छन्।
सत्तरी वर्षको इतिहास बोकेको नेकपा एमाले जनताको पार्टी बन्ला, फराकिलो सोचाइ बनाउला भन्दा झन् साँघुरिएर निरङ्कुश ओली र ओली कम्पनी जस्तो देखिएको छ। अघिल्लो निर्वाचनमा धन्नै दुईतिहाई मत लिएर पार्टी चलाउन नसकी आन्तरिक कलहले देशलाई अनिर्णयको बन्दी बनाइएको थियोे अन्तत संसद विघटन नै गरियो र पुनः डरलाग्दो फोहोरी खेलको सुरुवात भयो।यसैको परिणामस्वरुप आज देशमा राजनैतिक अस्थिरता झन बढ्दै गएको छ। एमालेले आफू कतैबाट चोखो बन्न सकिन्छ भनेर ओलीलाई देवत्वकरण गरिरहेको छ। एमाले पार्टी यस्तो बनाइएको छ कि कुनै कार्यकर्ताले बोल्न र आलोचना गर्न नै पाइँदैन। पार्टीभित्र पसेपछि यो पटक ओलीको जयजयकार गर्नुको विकल्पै छैन, त्यस्तो एक छत्र बनाइएको छ। अहिले नेकपा एमाले यस्तो जड पार्टी बनेको छ कुनै पनि कार्यकर्ताले विचार र नेतृत्वप्रति मुख बन्द नै गर्नुपर्छ।पार्टीमा अधिनायकवाद हावी भएको देखिन्छ।
यस्तो परिवेशले नेकपा एमालेको दशौँ महाधिवेशनले कार्यकर्ता र शुभेच्छुकलाई केही नयाँ आशा र जोश ल्याउने लक्षण देखिँदैन। पार्टीभित्र एक शक्तिशाली व्यक्तिको रुपमा ओलीलाई नै पूजा गरिरहेको देखिन्छ। पार्टीमा यस्तो परिवेश बनाइएको छ कि उनको विपक्षमा बोल्ने तागत कसैले पनि राख्न सक्दैन। मुख नै खोलेर बोल्नेहरू पाखा लागि सकेको हुनाले आवाज ननिकाली ओठ मात्र चलाएर बोल्न र लेख्न खोज्नेहरूको सुनुवाइ नै हुँदैन,सायद रावल र भुसाल कित्ता चुप्प लाग्ने र जे भन्छन् र जुन पद दिन्छन् त्यही स्विकार्नुको विकल्प देखिँदैन।
कुनै बेला शक्तिशाली र आशाका अनुहार भनेर गनिएका दशभाइको ओठमुख सुखिसकेको देखिन्छ। बिद्रोह वा असहमत चेत भएका दशभाइलाई एमालेको ओली कम्पनीले यसरी पछार्यो कि अब पार्टीभित्र चुइक्क बोल्न नसक्ने अवस्थामा पुगे। कहिलेकाहीँ भीम रावल र घनश्याम भुसालको लिखित स्वर आएपनि त्यसको खासै तात्पर्य छैन । रावल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धामा उत्रने घोषणा चाहिँ गरेको सुनिन्छ, त्यसमा पनि ओली सर्वसम्मत भएनन् भन्ने होला अरु खासै उपलब्धि केही छैन। त्यो भनेको रावल पार्टीबाट नै अलग्गिनु पर्ने कारकका रुपमा आउन सक्छ। एमाले पार्टीभित्र ओली गुट यति बलियो बनेको देखिन्छ कि ओलीको विपक्ष मा बोल्न त परै जाओस् सास फेर्न समेत गाह्रो छ।
एमालेको यो दशौँ महाधिवेशन हेर्दा लाग्छ ओलीलाई अझै उच्चाशन दिएर शिरमा पुर्याई उनमा लागेको ऐतिहासिक रुपमा पार्टी चलाउन असक्षम भएको र पार्टीको आन्तरिक कलहका कारण जनताको सर्वोच्च निकाय संसद भङ्ग गरेको कालो दाग मेटाउन सकिन्छ कि भन्ने एउटा कागजी खेल मात्रै हो।यो पुरै रेडिमेड छ। अहिले एमालेमा पार्टी पद्धति देखिँदैन केवल ओली एण्ड कम्पनी जस्तो भएर चलेको छ। एमालेको अपानि होस् वा प्रतिनिधि चयन परिपाटी ओली कम्पनी जस्तै छ।चितवनको नारायणी तिरमा गरिने महाधिवेशनमा पक्कै पनि एमालेले देवता रुपमा ओलीका शालिक बनाई जयजयकार हुने सुनिश्चित छ। एमालेमा ओली प्रवृत्ति यसरी बढ्यो कि अब ओलीको विकल्पमा कसैले पनि मानौँ एमाले पार्टी चलाउन सक्दैनन् । यसपालिको महाधिवेशनमा अध्यक्षमा ओलीको सुनिश्चिततासँगै उपाध्यक्ष, महासचिव, सचिवसम्म हुने ओलीका खल्तीमा रहेका कमरेडहरू जोखिम मुक्त छन् भने केही प्रतिस्पर्धा भनेको केन्द्रीय सदस्यमा भइ हाल्छ कि जस्तो छ तर त्यो पनि सम्भावना न्यून नै देखिन्छ किनभने जताततै सर्वसम्मतको हावा फैलाइएको छ । विधान महाधिवेशनमा जस्तै उपस्थित प्रतिनिधिले ताली पिटेर सर्वसम्मत बनाउने सम्भावना प्रवल देखिन्छ।
चितवनमा हुन लागेको यस महाधिवेशनमा एक हजार नौ सय उनान्सय प्रतिनिधि हुने भनिएको छ।यस महाधिवेशनमा बरु एउटा कौतूहलता के छ भने आयोजक समितिको संयोजक राम बहादुर थापा छन्। यिनलाई ओलीले कसरी पदाधिकारीमा समायोजन गर्छन् भन्ने हो । ओलीले चरम स्वेच्छाचारीताको उग्ररुप प्रदर्शन गरेको बेलामा कुर्सीको प्रलोभनमा परी माओवादीतिर नफर्की नयाँ एमाले बनेका बादलसहितका केही भाइहरूलाई ओलीले काखी च्यापेका छन् । यिनीहरूलाई कसरी राख्ने होलान् भन्ने जिज्ञासा सर्वसाधारणमा सुनिन्छ । त्यस्तै यस महाधिवेशनमा ओलीका अत्यन्तै निकट मानिएका बिष्णु पौडेल र शंकर पोख्रेलको व्यवस्थापन गर्नको लागि केही थोरै गृहकार्य देखिन्छ किनभने यी दुई भाइहरू महासचिवका प्रतिस्पर्धी हुने देखिन्छ तर यसपालि शंकरले बिष्णुलाई साथ दिने प्रवल सम्भावना पनि देखिएको छ। बिष्णु पौडेललाई पनि सर्वसम्मत महासचिव बनाउने तयारी देखिन्छ ।
नेपालको राजनीतिमा एउटा महारोग सबै पार्टीमा छ। एमाले लगायत नेपालका सबै पार्टीका नेताहरूको ठूलो कमजोरी वा रोग भनेको कुर्सी छोड्न नसक्नु वा टाँसिनु हो र कार्यकर्ताले नेतृत्वप्रति विद्रोह गर्न नसकी असक्षमता प्रकट गरिनु हो। नेपालमा नेतृत्वलाई अत्यन्तै देवत्वकरण गर्ने परम्पराले आफ्नो असक्षमता प्रकट गर्दै चाकरी र चाप्लुसीमा रमाउने प्रवृतिको विकास भएको छ । नेता र कार्यकर्तालाई देश र जनताप्रति केही चासो छैन । सबैमा कसरी कमाउने र लुट्ने होला भन्ने कुरामा मात्र छ। देश र जनताप्रति कुनै संवेदनशीलता र जिम्मेवारी बोधको महशुस छैन। आफूले गरेको जिन्दगीको महाभूल कतै पखालिन्छ कि भ्रममा परी ठट्यौली र हँस्यौली गरेर आफ्ना आसेपासेलाई आशिर्वाद दिदै समय बिताएको परिस्थितिमा कार्यकर्ताले कहिले होला आफ्नो पार्टी भनेर खुशी र गौरव गर्ने दिन आज एकछिन ओलीको देवत्वकरण गर्दा केहीलाई क्षणिक फाइदा होला तर सिङ्गो पार्टी र प्रणालीलाई ठुलो घाटा हुन्छ।
कुनै पनि पार्टीमा व्यक्ति प्रधान होइन नीति प्रधान हुनुपर्छ । एमाले भनेकै ओली र ओली भनेकै एमाले बनाउनु उपयुक्त होइन । नेपालको राजनैतिक इतिहासमा देवत्वकरणका उदाहरण अरु पनि नभएका होइनन् । भीमसेन थापा,राजा त्रिभुवन, राजा महेन्द्र, वीपी कोइराला, गणेशमान,मदन भण्डारी,प्रचण्ड आदि।कसैलाई देवत्वकरण र दानवीकरण गरिनु स्थायी हुँदैन । देवत्वकरण र दानवीकरण दुवै समाजका घातक हुन् ।यसले मानिसलाई आलोचनात्मक दृष्टिकोणबाट विमुख बनाइदिन्छ । पार्टीमा आलोचनात्मक दृष्टिकोणको अभाव हुनु भनेकै अहिलेको एमाले जस्तै बन्नु हो । जब पार्टीमा स्वच्छ आलोचना हुँदैन अनि पार्टी बलियो हुन सक्दैन। नेतालाई पूजा गर्ने परिपाटीले नेता अहंकारी, दम्भी र स्वेच्छाचारी हुने र हिटलर नै बन्ने सम्भावना ज्यादा हुन्छ । मान्छे राम्रो छ, राम्रो काम गर्छ भने उसको कार्यलाई प्रशंसा र सम्मान गर्नु पर्छ नकि उसलाई भगवान नै बनाउनु पर्दैन।
दुई तिहाईको मातमा आफ्नो पार्टी चलाउन नसकी जनताको सर्वोच्च निकाय नै भङ्ग गरी देशलाई झन अस्थिरताको खाडलमा पारेको जसले जति भजन कीर्तन गाएपनि इतिहासमा कसैले मेटेर मेटिन्न । त्यसकारण सर्वसम्मत मात्र होइन खुल्ला, पूर्ण प्रतिस्पर्धात्मक र जनवादी केन्द्रियताका आधारमा महाधिवेशन हुनुपर्छ ।





