गृहपृष्ठ कविता – दशैं
कविता – दशैं
दशैं के हो त…??
मनमनै प्रश्न गर्छ
आफुलाई अतितको गर्भभित्र
झिल्के दाइको कलमा पाउँछ
पाँच दिन भयो दशैको लुगा लिन धाएको
अझै टाँक लगाउन बाँकी नै छ
केही छिनको पर्खाइपछि ऊ
लुरुक्क घर फर्कन्छ
आज त खसी काट्ने दिन
बाले जख्खु खसी ल्याएका छन् बजारबाट
धुवाँको मुस्लो निकाल्दै सोतेबाट फु- फु गरिरहेछन्
साने उठ् आज त टीका लगाउने दिन
खल्ती भरि पैसा भर्ने
खुसीले जुरुक्क उठेर पर धारामा थापिएर
काम्दै घर फर्कन्छ तर……
तर झल्याँस्स बिउँझिएको ऊ
आफूलाई थोत्रो चौतारोमा
जिर्ण वस्त्र बिचमा काँपिरहेको पाउँछ
अनायास उसको आँखा रसाउँछन्
ओहो…..!
आज दशैं… तर बेसहारा ऊ
मैलोले लट्टिएको कपाल,
झुत्रा – झुत्रा परेका वस्त्र,
परैबाट ढुङ्ग गह्नाउने
उसको शरीर,
मान्छेको होइन आज
पशुको कोटीमा झरेको छ ऊ
आफू ठाँटीदा गौरव मान्ने
आजको मानवलाई के थाहा …..?
उसमा पनि सम्वेदना छ भनेर
अरुलाई तल पार्न पाउँदा
आफ्नो इज्जत बढेको,
पशु प्रवृत्तिलाई के के चासो…..??
उसको पनि त्यस्तै रहर हुन्छ भनेर
बाटोभरि झिलिमिली परिवेश हेर्दै
आहा दशै….! भन्दै
तप्प – तप्प आँसु झार्दै ,
अमिलो मन लिएर
त्यही चौतारोमा थोत्रो कम्मलमा ,
अमिलो मन लिएर गुजुल्टिन्छ !!
– निरू गौतम
-मोरङ