गृहपृष्ठ अरु सबै ठिकठाक छ वर्तमान !
अरु सबै ठिकठाक छ वर्तमान !
दौडिरहेछ जताततै,
अगोचर शक्ति
केवल मान्छेलाई
सताउन
जसरी सताईरहेको थियो,
मान्छेले प्रकृतिलाई।
बदला स्वरुप,
मान्छेलाई आफ्नो,
औकात सिकाईरहेछ
प्रकृति।
अरु सबै, ठिकठाक छ
बर्तमान ।
सर्वस्वीकार्य, सर्वपृय,
एकलौटी रमाईरहेछ
दौलत
दृष्टि बेचेर सम्पत्ति
जोड्ने होडबाजी
चलिरहेछ ।
छैन तृप्तिको सीमा
कसैसँग ।
बिलासिताको गोदाम
भित्र कैद भएपछि,
संसारको सुन्दरता
नियाल्ने भाग्य,
आफैले मेटाईरहेछ
मान्छे,
अरु सबै, ठिकठाक छ
वर्तमान।
शब्दकोषमै सीमित
मानवता,
सामाजिक संजालमा
मात्र जीवित छन्
हाम्रा मुस्कानहरु।
कवि, लेखक सबै
किनिदिन्छन्
नामुद साहित्यकार
बन्छन् ब्यापारी।
ठेकेदारले किनिदिन्छन्
सत्ता,
कानुन खल्तीमै
बोकिदिन्छन् धनीहरु,
खुलेआम मान्छे
काट्नेहरु,
दोसल्ला ओढेर मञ्चमा
गमक्क पर्छन्।
निर्दोष गरीबहरु
मुछिन्छन्,
जेलमै सडेर मर्छन्।
ज्युनुको उमंग देखिदैन
कसैसँग,
अरु सबै ठिकठाक छ
बर्तमान।
हामी कर तिरेर नेता
पाल्छौ,
नदी बेचेर युरोपमा डलर
थुपार्छन् नेताहरू,
जनता पसिना बेचेर
मट्टीतेल किनौ,
किनकि टुकि बालेर
नियाल्नु छ
नयाँ नेपालको विकसित
अनुहार।
अरु सबै ठिकठाक छ
बर्तमान।
मस्तिष्कमा युरोपको
सपना बोकेर
राष्ट्रियता पढाउछन्
शिक्षक,
शिक्षकको गरीबीको
मजाक उडाउछन्
बिद्यार्थी।
अंगप्रदर्शन बिना बिक्दैन
कलाकारीता,
नाङिनु स्वतन्त्रता बन्यो,
घरैपिच्छे जन्मिए
पत्रकार
चिच्याएर बोल्नेहरु
राजनीतिक बिश्लेषक
बन्छन्।
मात्रै आतंक
मच्चाइरहेछन्
सामाजिक संजाल
अरु सबै, ठिकठाक छ
बर्तमान!
जिन्दगी पढाउन सकेनन्
बिश्वबिद्धालय,
डिप्रेशनको सिकार
भैरहेछ युवा पुस्ता,
फैलिदै छ बृद्दाआश्रमको
आयतन
जहाँ आफ्नै
मृत्युको याचना गरिरहेछन,
केही पाका अनुहारहरु।
हामी, बा आमा बनेर
पनि,
बा आमा चिन्न सकेनौ।
मुर्ति पुज्न सिक्यौ
हामीले,
ममता बुझ्न सिकेनौ।
बिग्रेको यत्ति हो,
अरु सवै, ठिकठाक छ
बर्तमान!
झुपडीहरु छानो नपाएर
रुझिरहेका छन्,
गरीबहरु गाँस नपाएर
कुपोषित छन्।
हामिलाई समृद्धिको
ललिपप देखाएर,
हाम्रै छाला ताछेर, हाम्रै
खुशी लुछेर,
मुख मीठो पार्दै,
सम्पन्नताले ढुस्स
डकारीरहेछन्
सीमित बाठाहरु।
यता हामी मुकदर्शक हुन
बाध्य छौ,
अरु सबै ठिकठाक छ
बर्तमान।
हुने र नहुनेवीच फरक
यत्ति हो
उता आलिसान
बिछ्यौना छ, निद्रा छैन,
यता मीठो निद्रा छ,
बिछ्यौना छैन।
ओहो! सुन्नुस त,
उता सुरु हुँदै छ रे,
लिलाम बढाबढमा,
देश बेच्ने अभियान।
महासय: हाम्रा दु:ख
यत्ती हुन्।
अरु सबै, ठिकठाक छ
बर्तमान!
यो भिडियो पनि हेर्नुहोस:






