रिक्सामा सामान बोकेर गुजारा गर्ने गरेका रिक्सा–चालक रामनारायण मण्डल सहरभित्र मानिसको यात्रा गर्ने शैली बदलिएको बताउँछन् । रिक्सामा पहिलाजस्तो मानिस चढ्नै छाडेको गुनासो गर्दै मण्डलले भने, ‘पहिला रिक्सामा मानिस बोक्दा दिनको पाँच/सात सय रुपैयाँ सजिलै हुन्थ्यो, अहिले दुई/चार सय पुर्याउन पनि निकै मुस्किल हुन्छ ।’
रिक्सामा कमाइ हुन छोडेपछि विराटनगरका रवि साह दुई वर्षदेखि सिटी सफारी चलाउँछन् । ‘सिटी चलाउँदा रिक्सामा जस्तो छातीमा परिश्रम पर्दैन,’ उनले भने, ‘रिक्साको भन्दा कमाइ पनि राम्रो छ ।’ उनले पहिला चलाउने गरेको रिक्सा घरमै थन्किएको छ । खिया लागेर काम नलाग्ने भइसकेको छ । ‘पहिला मैले कुदाएको रिक्सा कबाडीमा बेचेको छैन । घरमै थन्क्याएको छु,’ उनले भने ‘घरमै सडिरहेको छ ।’
रविका बुवा पनि रिक्सा चालक हुन् । कमाइ हुन छोडेपछि उनका बुबाले मान्छे चढ्ने रिक्सालाई स्वरूप परिवर्तन गरेर ठेला बनाएका छन्, यदाकदा सामान बोक्ने काम पाउँछन् । रिक्सामा मानिस चढ्न छोडेपछि केहीले स्वरूप परिवर्तन गरेर ठेला बनाएको र केहीले कबाडीमा बेचेको उनले सुनाए ।
चार महिनादेखि सिटी सफारी चलाउन थालेका सुशील पासवान पनि पूर्व–रिक्सा चालक हुन् । कमाइ हुन छाडेपछि उनले रिक्सा कबाडीमा बिक्री गरेर फ्याक्ट्रीमा कम गर्न थालेका थिए । फ्याक्ट्री पनि बन्द भएपछि सिटी सफारी चलाउन थालेको सुशीलले बताए । सिटी सफारीबाट हजार रुपैयाँभन्दा माथि नै कमाइ हुने गरेको उनको भनाइ छ ।
गल्ली–गल्ली पुग्ने सयौँको सङ्ख्यामा रहेका रिक्साको स्थान विद्युतीय सवारीले लिएपछि विराटनगरबासीको यात्रा थोरै सहज र छिटो त भएको छ, तर सहरमा वातावरण प्रदूषणको अर्को अध्याय पनि थपिएको छ ।






