गृहपृष्ठ पर्यटकको आगमन नहुँदा सुनसान बन्दै भैरवस्थान मन्दिर
पर्यटकको आगमन नहुँदा सुनसान बन्दै भैरवस्थान मन्दिर
पाल्पा । भैरवको दर्शनले मनोआकंक्षा पूरा हुने जनविश्वास छ । यसैले यहाँ श्रद्धालु पुजाअर्चनाका लागि आउँछन् । पाल्पाको रिब्दीकोट गाँउपालिकामा पर्ने भैरवस्थान मन्दिरमा धार्मिक तथा ऐतिहासिक महत्व छ । सदरमुकाम पाल्पाका करिब ९ किमी दूरीमा मन्दिर छ ।
भैरवस्थानको मन्दिर मणिमुकुन्द सेन प्रथमले वि.स. १५८१ मा बनाएको बताइन्छ । भैरवस्थान मन्दिरलाई अष्टभैरव, कुम्भ भैरव, भिमसेन भैरव, बाघ भैरवलगायत विभिन्न भैरवको रुपमा पूजा गरिन्छ । यहाँ महाकाल भैरव र बटुक भैरवको मूर्ति स्थापना गरिएको छ । मुकुन्द सेनको पालामा सेनवंशी राजाले भैरवस्थान मन्दिरलाई शक्तिपीठको रुपमा स्थापना गरेका हुन् ।
लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको यो मन्दिर पछिल्ला दिनहरुमा भने सुनसान छ । पर्यटक आगमन न्यून छ । कोरोना महामारी अन्त्यको पर्खामा मन्दिर छ । महामारीले यहाँ पर्यटक पुग्न सकेका छैनन् । सुनसान हुँदा मन्दिर परिसरमा घाँस उम्रिएको छ । पहिला विभिन्न समुदायले ढाडा, टण्टा, सत्तल, पौवा निर्माण गर्ने, पुजा लगाउने, पातहरु, दाउराहरु ल्याउने चलन थियो । भैरवको मन्दिरमा बलि पनि चढाइने भएकाले राँगा, बोका, कुखुरा, भालेहरुको बलि चढाइन्छ । घरमा मासु नखानेहरुले कुभिण्डो पनि चढाउने गर्दछन् । अहिले यी सबै ठप्प छ ।
मन्दिरमा सुनसान छ । गएको वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा अहिले पनि हटेको छैन् । पाल्पामा पुनः भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । सवारी साधन चलेका छन् । बजार पसल खुलेका छन् । मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आवतआवत गरिरेहका छन् । तर मन्दिरमा पूजा गर्न रोक लगाइएको छ । आम भक्तालुका लागि मन्दिर खुला गरिएको छैन् । नित्य पूजा बाहेक अन्य पूजा गर्न रोक लगाइएको छ ।

विगतमा दैनिक सरदर एक हजार भक्तालु मन्दिरमा पूजा गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक मीनबहादुर बुढाथोकी बताउँछन् । उनी भन्छन्, ‘विगत २ वर्षदेखि यहाँ भक्तालु न्यून मात्रामा आएका छन् । अहिले ठप्प नै छ ।’ यसले मन्दिरको आम्दानी पनि खुम्चिएको छ । भक्तालु आउनु, मेडो चढाउनु नै मन्दिरको मुख्य आम्दानी हो । ‘विगतमा मासिक ५ लाख बढी आम्दानी हुन्थ्यो । अहिले आम्दानी शून्य छ । नित्य पूजा गर्न समेत समस्या भइरहेको छ’, उनले भने ।
मन्दिरका मूल पुजारीसहित केही सहयोगी कर्मचारीलाई बिहान साँझ खान समस्या हुन थालेको छ । मन्दिरमा चढाएका पैसा, मेडोको रुपमा चढाउन ल्याएको बोका, कुखुराका टाउका बिक्री गरेर मन्दिरको खर्च चल्दै आएको थियो । परेवा र मन्दिरबाट नै रोट बनाएर भक्तालुलाई बिक्री गरेका रकमबाट मन्दिरको खर्च व्यवस्थान हुँदै आएकाथियो । खर्चबाट बचत भएको रकमबाट मन्दिरले अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको थियो ।





