गृहपृष्ठ “बालापन” ( शिखरिणी )
“बालापन” ( शिखरिणी )
- भएको थ्यो मेरो अति सहजले जन्म भवमा
हिलो मैलो नै थ्यो सुदिन बुधको भाद्र महिना
बुवा मेरा टीका जग सकलका भद्र पनका
मुमा मेरी नैना करुण दिलकी शान्त गजब ।
~~~~~~~
- बिते एघारौं ती दिन चरणमा पूण्य गुरुको
जुराएछन् यस्तो अनुशरणमा बाल म अहो
थिएँ बच्चा सानो तब भुवनमा हर्ष छरियो
चल्यो फागुन् मैना गजब गरिमा अन्न रसिलो ।
~~~~~~~
- जिवा रत्ना मेरा कडक दिलका सारथि बनी
समाते ती औला सँग हजुर बा हिड्न म पनि
म सुन्थें रामायण् हर बखतमा काव्य लहरी
सिकाए बाबाले मन मगजमा त्यो शिखरिणी ।
~~~~~~~
- म लड्थे वेपत्ता तब सुमनले खोज्छ नयनी
नजाती थ्यो बानी, विगत पलले पिर्छ सपनी
कुनै आयो यौटा प्रहर पलको बाल्यवयमा
हिडें झोला बोक्दै सरल पथमा कष्ट मनमा ।
~~~~~~~
- कठै हाम्रा पाला,सुकुल चकटी कस्न पलटी
नयाँ नौलो भाका अझ सरसको भुल्नु कसरी
उदाए आशाका किरण मनमा वर्ण कखरा
अहो हाँस्छ्न् साथी हृदय कलिलो बाल बिचरा ।
बालकुमार क्षेत्री “साइनो” पैँञ्यु – ४ पर्वत ( हाल- इराक )





