२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ नेपाली साहित्यमा लोकप्रिय बन्दै गइरहेको ” झर ” तल पढौं यसका प्रकारहरु केके रहेछन

नेपाली साहित्यमा लोकप्रिय बन्दै गइरहेको ” झर ” तल पढौं यसका प्रकारहरु केके रहेछन

झर २ पङ्तिको काव्यिक विधा हो । मिति २०७७ जेठ ३ गते प्रवर्तन भएको झरका दर्जनौं लेख, १० औं हजार रचनाको भण्डारले नेपाली साहित्य भरिलो बनिसकेको छ । दुई पङ्तिको रचना भएपनी संरचनागत विविधताले गर्दा यो यति छिटो फुल्न फल्न सकेको भन्न सकिन्छ ।

संरचनागत रूपमा झरका धेरै प्रकारका हुन्छन् :

१. अन्त्यानुप्रास भएको तर दुई पङ्तिमा समान अक्षर नभएको झर । जस्तै-

देशमा घाउ लागेको छ

नेतामा कुर्सीको भोक जागेको छ ।

निरू गौतम, मोरङ्ग

२. अन्त्यानुप्रास भएको र दुई पङ्तिमा समान अक्षर भएको झर । जस्तै-

अक्षोभ्य नेता राजनीतिको भेल

जुन पार्टी आए नि स्वार्थको खेल ।

मनिष कुमार शर्मा, समित, ठिमी, भक्तपुर

३. अन्त्य अनुप्रास नभएको झर :

बाछिटा, हाईकु, उदक, साईनो लगायतका लघुविधाहरुमा अन्त्यानुप्रास अनिवार्य गरिएको छैन । यही शैलीमा गहन अभिव्यक्ति दिने अन्त्यानुप्रास नभएका झर रचना गर्न सकिन्छ । जस्तै-

अर्धमुर्छित इच्छा,

सपनामा शिखर आरोहण !

आर्त अकुलीन, कैलाली

४. छन्दमा झर :

दुई पङ्तिको कविताको रूपमा झरलाई छन्दमा समेत लेखिएको छ । तर यी झरलाई मौलिक संरचनाको रूपमा लिईदैन ।

(छन्द : शार्दूलविक्रीडित )

मैले हेर्छु चकोर झैँ नभतिरै चम्की रहेकी तिमी,

मैले भिज्दछु चातकैसरि भई बर्सी रहेकी तिमी ।।

शेष पौडेल, काठमाडौँ

५. मुक्तक शैलीको झर:

शास्त्रीय रुपमा कविता दुई प्रकारले लेख्न सकिन्छ । छन्द र मुक्तक । झरलाई २ पङ्तिको मुक्तकको रूपमा लिईएको छ । यहीँ शैलीमा लेखिएको झर तल प्रस्तुत् गरिएको छ ।

सपनासँग साइनो गाँसेर हुन्न जिन्दगीमा

अवसर छोप्न नसक्ने रुन्छ जिन्दगीमा ।

जनार्दन अधिकारी धड्कन, काठमाडौं

६. उक्ति शैलीको झर :

गहन जीवन दर्शन बोकेका उक्ति शैलीका पनि केही मात्रामा झर लेखिएका छन् । उक्ति शैलीको झरले तुलनात्मक रूपमा कम काव्यात्मक स्वरुप बोक्ने देखिएकोले यस शैलीको झर लेख्न प्रोत्साहन गरिदैन । तर अग्रज स्रष्टाले यही शैलीमा लेखेर झरलाई उचाई प्रदान गर्नुभएको छ । जस्तै-

आँखा उघारेर हेर,

पत्थरमा ईश्वर देखिन्छ !

जीवन पानी, स्याङ्जा, हाल काठमाडौं

७. उखानटुक्का शैलीको झर :

उखान टुक्का झरमा पर्दैनन् । तर त्यही शैलीमा लेखिने काव्यात्मक रचना झर बन्न सक्छन् । जस्तै-

सर्प जस्तो विषालु

सबैलाई डस्ने भावना !

शिव खनाल जीवम

८. सरल झर :

झर अभिधा, लक्षणा र व्यान्जना शैलीमा लेख्न सकिन्छ । त्यसमा पनि सरल संरचनात्मक बनोट तर गहन सन्देश दिने काव्यात्मक अभिव्यक्ति झर बन्न सक्छन् । जस्तै-

न्याय निलेछ

कालो कोटले ।

नारायण खनाल निलम, अर्घाखाँची ।

९. कृमुक झर :

खासगरी सुक्ष्म विधामा अन्त्यमा क्रियापद भए रचना अलिक सुन्दर हुँदैन । यस्ता रचना क्रियामुक्त भए सुन्दर र गहन हुन्छन् । जस्तै-

पारिजातको फुल

बास्ना चारैतिर ।

लक्ष्मी बस्याल, बर्दिया

१०. बिम्ब प्रतिबिम्बित झर :

यस्तो झरमा एउटा बिम्बलाई प्रष्ट पार्न दृष्टात्मक प्रतिबिम्बको प्रयोग गरिन्छ । जस्तै –

साैभाग्य

गरिबीमा बैदेशिक यात्रा ।

सविता केसी, बझाङ

…..

क्रमशः

( अर्को लेख- झर र अन्य विधाको सम्बन्ध र अन्तर)

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार