गृहपृष्ठ युरोकप : जर्मनी अन्तिम १६ मा
युरोकप : जर्मनी अन्तिम १६ मा
एजेन्सी – युरोकप फुटबल मा जर्मनीले समूह एफ को अन्तिम खेलमा हंगेरीसँग बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा दुई पटक पछि परेपनि जर्मनी २-२ को बराबरी गर्न सफल भयो ।
खेलको ११ औं मिनेटमा कप्तान एडम स्जालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । उनले रोनाल्ड सल्लाईको क्रसमा डाइभिङ हेडरमार्फत गोल गरेका थिए । त्यसअघि एन्टोनियो रुडीगरको हेडर पोस्टभन्दा बाहिर जाँदा जर्मनीले अग्रता लिनबाट चुकेको थियो ।

खेलको २१ औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सको प्रहार पोस्टमा लाग्दा जर्मनी खेलमा फर्कन सकेन । जोशुवा किम्मिखको कर्नरमा हमल्सको हेडरले गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो । ३९ औं मिनेटमा सल्लाईको प्रहारलाई कप्तान म्यानुएल नोएरले बचाउँदै अग्रता दोब्बर पार्न दिएनन् ।
दोस्रो हाफको ६६ औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । किम्मिखको लामो फ्रिकिकमा गोलरक्षक पिटर गुलाक्सीले गल्ति गर्दा जर्मनीले त्यसको भरपुर फाइदा उठायो । हमल्सको हेडरलाई गोललाइन नजिकबाट काइ हाभर्ट्जले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए ।
तर त्यसको एक मिनेट नबित्दै हंगेरीले पुन: खेलमा अग्रता लियो । कप्तान स्जालाईको फ्लिकलाई आन्द्रेस सेफरले गोलमा परिणत गर्दै हंगेरीलाई २-१ ले अघि बढाए । गोलरक्षक नोएर बल समात्न अघि बढेको अवस्थामा सेफरले गरेको हेडर गोल भएको थियो ।
८४ औं मिनेटमा जर्मनीका लागि लिओन गोरेट्जकाले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले गरेको शक्तिशाली प्रहार दुई डिफेन्डर र गोलरक्षक गुलाक्सीलाई छिचोल्दै गोल भएको थियो ।






