२०८३ कात्तिक २६ गते बुधवार | November 11, 2026

गृहपृष्ठ युरोकप : सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

युरोकप : सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

एजेन्सी । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम महेले र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

Image

दोस्रो हाफको सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८८ औं मिनेटमा महेलेले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । जेनसनको पासमा उनले सहजै गोल गरे ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । महेलेलाई फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिईएको थियो ।

त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए । आन्द्रेसको पासलाई उनले सदुपयोग गरेका हुन् ।

Image

यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।  वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार