गृहपृष्ठ युरोकप: बेल्जियम नकआउट चरणमा
युरोकप: बेल्जियम नकआउट चरणमा
एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।
पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरे ।
डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन् ।
तर, ब्रुएन चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो ।
खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनको पासमा गोल गरे ।
त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् ।
ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।
यस जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।
डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।





