२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ भरतको गोलमा आर्मीको पहिलो जित

भरतको गोलमा आर्मीको पहिलो जित

काठमाडौं, १९ मंसिर। कप्तान भरत खवासको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० अन्तरले पराजित गर्दै पहिलो तीन अंक जोडेको हो ।

आर्मीका भरत खवासले ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भरतले सन्तोष तामाङले बक्सबाहिरबाट दिएको बललाई पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए ।

जितसँगै तीन खेलबाट पाँच अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मी पहिलो खेलमा पुलिससँग १–१ र दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

बीबीसीको यो पहिलो हार हो । पहिलो खेलमा एपिएफलाई ३–२ ले पराजित गर्दा एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो । तीन अंक जोडेको बिबिसी तालिकाको सातौं स्थानमा झरेको छ ।

यसअघि पहिलो हाफ बराबरीमा सकिएको थियो । बाकी समय दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

बिबिसीका शिशिर लेखीले पेनाल्टी बक्स बाहिरबाट २६औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

आर्मीका मिडफिल्डर सन्तोष तामाङले ३७औं मिनेटमा बायाँतर्फबाट प्रहार गरेको कर्नरमा कप्तान भरत खवासको हेडर फ्रेममा परेन ।

आर्मीका सन्तोष तामाङको पासमा ६२औं मिनेटमा टेकबहादुर बुढाथोकीले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार बिबिसीका गोलकिपर पूर्ण लिम्बुले बचाए । अब बुधबार तेस्रो चरणका अन्तिम दुई खेल आयोजना हुनेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार