गृहपृष्ठ बादँरबाट खेतिपाती जोगाउन १४ लाख बजेट विनियोजन
बादँरबाट खेतिपाती जोगाउन १४ लाख बजेट विनियोजन
किसानले लगाएको बालिनाली बाँदरले सखाप पार्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले किसानको खेतिपाती जोगाउन बजेट विनियोजन गर्न थालेका छन् ।
पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको लागि १४ लाख रुपैयाँ छुट्याएको छ । बाँदरले बालीनाली सखाप पारिदिँदा किसानको मिहिनेत खेर जानुका साथै जग्गा नै बाँझो छोड्नुपर्ने बाध्यता भएपछि बाँदर नियन्त्रणको योजना पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानाकारी दिए ।
उनका अनुसार कृषकहरूको गुनासो निकै बढेपछि मंसिर १९ र २० गते बसेको बैठकबाट बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । पौडेलका अनुसार बाँदरले केही नराखेपछि किसानहरूले जग्गा नै बाँझो छोड्नुपर्ने अवस्था आएको भनेर निकै गुनासो आउन थालेका कारण बैठक बाट नै बजेट छुट्याइएको बताए ।
यसअगाडि पर्वतकै महाशीला गाउँपालिकाले पनि बाँदर नियन्त्रण कार्यक्रम चलाएको थियो । सो कार्यक्रमले किसानले लगाएको बालि जोगिएको छ भने अन्य जिल्लामा यस्ता खालका कार्यक्रम ल्याएर खेती जोगिएको हुदाँ किसानको समस्यालाई केन्द्रमा राखेर यो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानाकारी दिए ।
महाशीला गाउँपालिकाले बाँदरलाई जाल र खोरमा पारेर राष्ट्रिय निकुञ्जहरूमा लगेर छाड्ने गरेको भए पनि पैयुँ गाउँपालिकाले भने बाँदर नछोपी खेती गर्ने जग्गाको नजिक रहेका रुखहरू सफा गर्ने भएको छ ।
अधिकृत पौडेलका अनुसार खेतीपाती गर्ने ठाउँमा रुखहरू हुर्काउँदा बाँदरलाई बस्न सहज हुने र लखेटे पनि त्यहीँ लुक्ने भएकाले उब्जाउ जमिन आसपासमा रहेका रुख तथा फोहोरहरू हटाउने निर्णय भएको हो ।
यसका लागि गाउँपालिकाले विनियोजन गरेको बजेटबाट रुखहरू हटाउनको लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था वडा वडामा गर्ने भनिएको छ । पैयुँमा उब्जाउ जमिन भए पनि बाँदरकै समस्याका कारण किसानहरूले व्यावसायिक रूपमा खेतीपाती गर्न चुनौती भोगिरहेका छन् ।
बथानमा आएका बाँदरले केही बेरमा लगाइएका खाद्य बाली सखाप पार्दै आएका कारण लगानी खेर जाने भएकोले कृषिमा लाग्न जोखिम भएको उनीहरूको गुनासो छ । अन्य जिल्लामा यसरी बादरबाट खेतिपाति जोगाउने कार्यक्रम प्रभावकारी हुन नसके पनि पर्वतमा भने यस्ता कार्यक्रम बाट कृषकहरू कृषिपेशा गर्न तर्फ आकर्षित भएका छन् ।






