२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ यो साता युटुबमा रिलिज भएका तिन नेपाली फिल्म

यो साता युटुबमा रिलिज भएका तिन नेपाली फिल्म

कोरोना कहरका कारण फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प भएको पनि नौ महिना भइसक्यो । निर्माण भएका फिल्महरु सिनेमा हल बन्द भएका कारण रिलिज गर्ने भनेर तोकिएको समयमा रिलिज हुन सकेनन् । पुस १० गतेबाट सिनेमा हल खुले पनि हलसम्म दर्शक नआएको पाइएको छ ।

कोरोना कहरका कारण नयाँ फिल्म हलमा नआए पनि युटुबमा थुप्रै फिल्महरु रिलिज हुने क्रम जारी छ । यो साता मातै युटुबमा तीन नेपाली हिट फिल्म सार्वजनिक भएको छ । यो साता युटुबमा रिलिज भएको तीन हिट फिल्महरुको सूची यस प्रकार छन् :

‘वीर विक्रम २’

फिल्म ‘वीर विक्रम २’ युट्युबमा सार्वजनिक भएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआईको ब्यानरमा निर्माण भएको फिल्म ओएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । दायाहाङ राई र अनुपविक्रम शाही स्टारर फिल्म वीर विक्रम हिट भएपछि निर्देशक चाम्सले वीर र विक्रमको दोस्तीलाई फेरि एकपटक पर्दामा उतारेका हुन् । फिल्म वीर विक्रम २ मा पल शाह र नाजिर हुसेन मुख्य भूमिकामा छन् भने वर्षा सिवाकोटी अपोजिटमा देखिएकी छन् । प्रेम र दोस्तीको कथामा आधारित फिल्ममा बुद्धि तमाङ नेगेटिभ रोलमा देखिएका छन् ।

फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा एवम् संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बू र राजनराज सिवाकोटीको सङ्गीत, नवराज उप्रेतीको छायांकन र वनिष शाहको सम्पादन रहेको छ ।

‘छक्का पञ्जा–३’

प्रतीक्षारत फिल्म ‘छक्का पञ्जा–३’ लामो समयपछि बुधबार युटुबमा सार्वजनिक भएको छ । ५१ दिनसमेत मनाएको यो चलिचत्र हाइलाइट्स नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले आज फेसबुकमा एक स्ट्याटस लेख्दै आज छक्का पञ्जा–३ सावजनिक गर्ने जनाएका थिए ।

छक्का पञ्जा र ‘छक्का पञ्जा २’ को सफलतापछि दीपक र दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ को निर्माण गरेका हुन् । दीपाश्री निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपकका साथ दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलगायतका कलाकारको मुख्य भूमिका छ ।

‘साङ्लो’

एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ युटुबमा सार्वजनिक भएको छ ।

एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका विराज आफैँले फिल्म ‘साङ्लो’ लाई निर्माण तथा निर्देशन गरेका हुन् । फिल्म ‘साङ्लो’ बाटै विराजले निर्देशनमा डेब्यु गरेका हुन् भने यही फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन् ।

किड्नी तस्करीको कथा बोकेको फिल्म एक्सनले भरिपूर्ण छ । फिल्ममा निकिता र विराजको लभ केमेस्ट्री पनि देख्न सकिन्छ । फिल्ममा प्रकाश साह र कामेश्वर चौरासिया नेगेटिभ भूमिकामा छन् ।

‘चरीले काफल’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा रहेको यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायाङ्कन रहेको ‘साङ्लो’ मा जयनन्द लामा, आरपी पन्त, लय सङ्ग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार