गृहपृष्ठ मानिस जातले होइन,आफ्नो कर्म र पेसाले चिनिने प्रयत्न गरौँ
मानिस जातले होइन,आफ्नो कर्म र पेसाले चिनिने प्रयत्न गरौँ
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ।।
– लक्ष्मी प्रसाद देवकोटा
नेपाली समाजमा थुप्रै किसिमका असमानताहरू छन् । आज २१ औं शताब्दीमा आउँदा पनि मान्छे मान्छेका बिचमा देखिएका यस्ता जातीय,वर्गीय,लैङ्गिक, धार्मिक जस्ता थुप्रै विभेदहरूलाई चिर्नु पर्छ अनि एक अर्काको अस्तित्त्व स्विकार्नु पर्छ । मानिस सबै बराबर नै हो । चाहे जातका आधारमा गरिएको बाहुन, क्षेत्री, शुद्र र वैश्यको जातीय विभेद होस्, चाहे पुरुष र महिलामा गरिएको विभेद होस् कुनै पनि विभेद ठिक छैनन् । विश्वब्रह्माण्डमा सबै मानिस एउटा जात हो। धर्म वा पेसाका आधारमा पनि कोही ठूलो सानो होइन ।
मान्छेमा मानवता हुनु र कर्मलाई प्रधानता दिनु नै ठूलो हो । हाम्रो हिन्दु धार्मिक प्रचलन अनुसार विभिन्न संस्कार र कर्म गरिन्छ । घरमा पूजाआजा, श्राध्द,घरपैसो, विवाह, ब्रतबन्ध, पास्नी यस्ता थुप्रै कार्य गर्न बाहुन चाहिन्छ । यहाँ मैले बाहुन भनेको उच्च जातिको रुपमा लिएर चर्चा गर्न खोजेको होइन । हिन्दु धर्मशास्त्र अनुसार विभिन्न सांस्कारिक कार्य गराउन सक्ने क्षमता भएको व्यक्तिलाई भन्न खोजेको हुँ । आजकल हिन्दु सांस्कारिक कार्य श्राध्द,पूजाआजा,रुद्री,सप्ताह आदिको लागि पण्डितको अभाव रहेको छ। पछिल्लो चरणमा संस्कृत भाषाप्रतिको वितृष्णाले गर्दा हिन्दुशास्त्र पढेका मानिसको कमी देखिन्छ । संस्कार र संस्कृति रक्षार्थ बाहुन वा ब्राह्मणको पेसा पनि संकटमा पनि परेको देखिन्छ ।
संस्कृत भाषा वा हिन्दु धर्मशास्त्र पढ्न कुनै जातजातिलाई प्रतिबन्ध लगाउनु हुँदैन भनी सर्वत्र चर्चा गरिएको छ। समाजमा बाहुन वा कुनै पनि जाति भनिनेले हिन्दुशास्त्रको अध्ययन गरेको छ भने उसको अध्ययन र ज्ञानलाई सम्मान गर्नुपर्छ । जेजेमानी गर्ने बाहुन वा ब्राह्मण वा पण्डितलाई निमन्त्रणा गरी हाम्रो संस्कार र मान्यतालाई निरन्तरता दिनुपर्छ । विद्यालयमा शिक्षक, व्यापारमा व्यापारी,स्वास्थ्यमा चिकित्सक, पत्रकारितामा पत्रकार, न्यायालयमा वकिलको भन्दा बढी सम्मान र मान्यता ब्राह्मणको पेसालाई बनाउनु पर्छ। ब्राह्मणले अरुको तुलनामा केही राम्रो संस्कार र संस्कृति पनि समाजलाई दिएको हुन्छ । नेपाली समाजमा जातपातको विभेदले थुप्रै सामाजिक विकृति निम्त्याएको छ। समाजमा रहेको तथाकथित उपल्लो र तल्लोजातको विभेदले राजनीतिक रङ्ग समेत दलेको देखिन्छ । हिन्दु सनातन धर्म परम्परामा जातपातको कुनै व्यवस्था गरिएको छैन भनिदा भनिदै पनि अझै अन्धविश्वास रहेकै छ।
२१ औं शताब्दी आउँदा मान्छेलाई उपल्लो र तल्लो भनिनु घृणात्मक कार्य हो । यो परम्परालाई जरैदेखि उखलेर फाल्नुपर्छ । मान्छे एउटै हो ,सबको रगत रातो छ । मान्छेले मान्छेलाई मान्छेको व्यवहार गर्न सक्नुपर्छ । अनि मान्छे भइन्छ । मान्छे जो सुकै होस् उसको क्षमता वा सिपलाई सम्मान गर्नुपर्छ । जातले होइन कामले मान्छे ठुलो हुन्छ । सार्की,दमाई,बाहुन,क्षेत्री,कामी,मधेसी,पहाडी जो कुनैलाई उसको क्षमतालाई सम्मान गर्नुपर्छ । सार्कीले बनाएको जुत्ता लगाउन हुने तर उसैलाई कथित तल्लो जात भनेर हेप्नु हुँदैन र बाहुन नभई कुनै संस्कार र कर्मकाण्ड , श्राध्द, पूजापाठ चल्दैन तर त्यसैलाई टपरे भनेर घृणा पनि गर्नु हुँदैन । यी यस्ता नराम्रा कुरा हुन् ।
बाहुनले पनि जुत्ता सिलाउन हुन्छ र दलितले पनि जेजमानी गर्नहुन्छ । विभेदका कुरा कुनै धर्मशास्त्रमा लेखिएको छैन भनिएको छ । यो मान्छेले आफै बनाएको परम्परित हिन्दुधर्मको तथाकथित धार्मिक र सामाजिक नियम मात्र हुनसक्छ । यस्तो विभेदको जरोलाई उखेलेर फाल्नुपर्छ र समाजका सबैको मन मस्तिष्कबाट जातपात भन्ने कुरा हटाउनु पर्छ । मैले यहाँ बाहुनलाई उपल्लो जात भनेर होइन उसले परम्परादेखि संरक्षण र अँगाल्दै आएको पेसालाई अपमान होइन, सम्मान गर्नुपर्छ भन्न खोजेको छु । सबै जातिले पूर्वीय मान्यताका राम्रा पक्षलाई अगालौँ र केही नराम्रा छन् चिन्तन मनन गरे अनि हटाउन परे हटाऔँ । पूर्वीय मान्यता वा हिन्दुधर्म शास्त्रका धेरै सकारात्मक विषयहरू छन् तिनलाई संरक्षण गर्नुपर्छ । हाम्रो दैनिक जीवनमा प्रयोग गर्नुपर्छ ।हाम्रा संस्कार, संस्कृति,धर्म भनेका हाम्रो अस्तित्वसँग जोडिएका छन् ।
वास्तवमा ब्राह्मणबाट बाहुन भएको हो। ब्राह्मण भनेको क्षमता र सिपका आधारमा बाँडिएको वर्ण बिभाजन हो। ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र यी वर्ण व्यवस्था हुन् । जात र थरका आधारमा गरिएको बिभाजन यो होइन । मानव सभ्यताको विकास परम्परालाई हेर्दा पनि यो ब्यवस्थामा मनुस्मृतिले निर्दिस्ट गरेको तागाधारी मध्ये क्षेत्रीले देखिने गरी राज्य संचालन गर्ने र बाहुन त्यो संस्थाको मास्टर माईन्ड ( सल्लाहकार ) हुने ब्यवस्था गरिएको देखिन्छ । किनकी बाहिर क्षेत्री देखिए पनि राज्य संचालनको बागडोर त्यतिबेला सम्म बाहुनकै हातमा आईसकेको थियो । धेरैले यो यथार्थमा ध्यान दिएका छैनन् । तर कुनै जाति लामो समय सम्म पूर्व तयारी र मेहनत बिना कसरी एक्कासी शासनसत्तामा टुप्लुक्क प्रकट हुन आईपुग्यो होला र ? नेपाली समाज र राजनीतिमा बाहुन समाजको उदय एक्कासी पक्कै पनि भएको होइन ।
बाहुनको परम्परागत पेसा निधारमा टीका, जजमानी र मन्दिरमा घन्टी बजाएर मात्र त्यो समाज यहाँसम्म आाईपुगेको पक्कै हैन । इतिहासमा समाजका केही कमीकमजोरी त पक्कै होलान् तिनको वस्तुगत विश्लेषण गर्नुपर्छ ताकि त्यसका आधारमा अहिलेको पुस्तालाई सजाय दिनु हुँदैन । त्यो त टपरे बाहुनको पनाति हो भनेर मनोबैज्ञानिक तरिकाले सजाय दिनुहुँदैन । पनातिको के को दोष ? नेपाली समाजमा पछिल्लो पुस्ता आफू समाजको तथा कथित उपल्लो जात हुनाले कतिपय ठाँउमा राम्रो र गुणस्तरीय शिक्षा ,स्वास्थ्य, रोजगार आदिको अवसरबाट बन्चित भएको छ । बाहुनले ९८% ल्याउदा अवसर प्राप्त गरिरहेका छैनन् तर दलित हुँदैमा ६०% आउँदा पनि अवसर पाएको छन । यस्तो अवस्थामा उत्पादित जनशक्तिले कस्तो सेवा दिन सक्ला ? यसरी राज्यले स्पष्ट रूपमा समाजलाई वर्गीकरण गरेको छ । अन्य विकल्प अपनाई पछि परेको समाजलाई अवसर दिनुपर्छ ।
वास्तवमा आज बाहुनको पेशा संकटमा पर्नु पनि राज्यको दोष देखिन्छ। राज्यले नेपाली भाषाको मातृभाषालाई विद्यालय शिक्षाबाट हटायो जसले गर्दा हिन्दुधर्मका शास्त्र वा पुस्तक पढ्न गाह्रो भएको छ। चर्चित समाजशास्त्री प्रा.डा कमलप्रकाश मल्लले हिमाल द्धैमासिक ( Bahunvada myth or Reality ? May-june 1995) मा लेखेका छन्, यदि डोर बहादुर बिस्टले भने झैं बाहुनहरु भाग्यवादमा मात्र विश्वास गर्ने भए उनीहरुको उन्नति यो स्तर सम्म हुनु संभव नै थिएन । यसको पछाडि उनीहरुको मेहनत छ ।’ तर यसमा थप्नुपर्ने तथ्य के हो भने यदि हिन्दु धर्म र मनुस्मृति आधारित राज्यब्यवस्था नेपालमा लागु गर्न ती अक्षम भएको भए के चाहिं पक्का हो भने बाहुन समाजको उन्नति र प्रगति यो स्तर सम्म आईपुग्ने थिएन । यो यथार्थ ज्ञान भएकैले हिंजोदेखि आजसम्म नेतृत्व राजनैतिक परिवर्तन सहन तम्तयार रहेपनि पहिचान बदल्न सहज रुपले तयार छैन यसलाई कुनै समयमा आफूखुशी आफूलाई उपल्लो दर्जा बनाएको हुनुपर्छ।
बर्तमानको पुस्तालाई भ्रममा पार्नु हुँदैन। त्यही भ्रममा पारेर न यसलाई पूर्ण नकार्न सक्ने न स्वीकार्न सक्ने अवस्था बनाइएको छ। यी संस्कारहरू समय अनुकूल बनाई चलाउनु पर्छ। समाजमा बिचलन वा भ्रम ल्याउनु हुँदैन । कसैले घरमा पूजाआजा गर्न खोज्छ ,आफूले सबै गर्न जान्दैन अनि जानेको मान्छेलाई बोलाएर गर्न खोज्यो , गराइदिने बाहुनलाई स्वागत ,सत्कार र सम्मान गर्न जान्दैन। कहिले पनि क्षमतावान बाहुन यहाँ बाहुन भनी कथित उपल्लो जातलाई भनिएको होइन । छ भने उसको आस्था र पेसालाई सम्मान गर्नैपर्छ । आफ्नो इच्छा हो , मैले यो धर्म मान्दिन भन्न छुट छ तर अर्कोले पूजापाठ , धर्मकर्म गर्दा कुनै किसिमको अपमान गर्नु हुँदैन । बाहुनको जजमानी पेसालाई सम्मान गर्नु पर्छ , अपमान नगरौं । कपडा सिलाउने कामलाई सम्मान गरौं । जुत्ता सिलाउने कामलाई सम्मान गरौं । सिकर्मी , डकर्मी ,कुचीकार देखि सम्पूर्णको पेशा र कर्मलाई सम्मान गरौं ।
हिन्दूग्रन्थमा कतै पनि जातका आधारमा मान्छेलाई विभेद गरिएको छैन भन्ने कुरा अघिल्लो पुस्तालाई बुझाउनु हाम्रो काम हो । जातका आधारमा विभेद गर्नु हुँदैन । समाज यस्तो विभेद छ , यसमा पुस्तागत द्वन्द्व छ । केही पुरानो पुस्ता समान जात भन्दा स्विकार्ने पक्षमा छैन । त्यसलाई स्वीकार गर्न लगाउनु हाम्रो भूमिका हो । जबसम्म क्षेत्री, वैश्य र शुद्रलाई संस्कृत शिक्षा ,कर्मकाण्ड आदि सहज रूपमा पढ्न हुन्छ भनेर उनीहरू पनि चाहेमा जेजमामानी गर्न सक्छन् भनेर सहजता गरिदैन तबसम्म समाजमा जातीय विभेद रहन्छ।बाहुन पेसा र उनीहरूको आस्थालाई चोट पुर्याएर कथित तल्लो जातलाई राजनीति रङ्ग मिसाइ दिएर जातीय विभेदको अन्त्य हुँदैन । जसले अन्त्य हुनुपर्छ भन्छ उसको घरभित्र पस्न उसैले दिदैन र कथित तल्लो जातलाई अगाडि सारेर राजनीति गर्न पाइएको हुनाले पनि एकथरी यस्तै इख राखी राख्न चाहन्छन् । यसकारण मानिस ठुलो वा सानो कुनै जात वा वर्गले हुँदैन,उसको कर्मले हुन्छ ।
बुटवल-१३, जितगढी









