गृहपृष्ठ कानको व्यथा…
कानको व्यथा…
कबिता – कानको व्यथा…
म कान हुँ हामी दुई छौँ जुडुवा भाई
तै नि हाम्रै दुर्भाग्य यस्तो छ कि
आजसम्म एक भाईले अर्कालाई देखेकै छैनौँ
थाहै छैन हामीलाई कुन श्रापले
विपरित दिशामा चप्काईदिए पठाईदिए
कहाँ दु:ख यत्ति मात्र छ र
हामीलाई मात्र सुन्ने ठेक्का दिईयो
ताली होस् या गाली खराब होस् या असल सब हामी नै सुन्छौँ
सुनिरहन्छौँ विस्तारै बिस्तारै हामीलाई गधा बनाईयो
गधाको बोझ भिराईयो फ्रेमको डण्डी मेरै थाप्लोमा अड्याइयो
यो पनि सह्यौँ हामी हैन त भाई ???
खासमा त चस्माको मामला आँखाको हो
तै नि हामीलाई नै बिचमा घोट्नु को मतलब के हो ??
हामी बोल्दैनौँ त के भयो? सुन्न त सुन्छौँ नि हौ
जताततै बोल्नेहरु नै किन किन अगाडी हुन्छन् हँ ?
बच्चैमा कसैको दिमाग पढाइमा काम नगरोस त
मास्टर जी पनि हामीलाई नै बटारिदिन्छन्
जवानी चढेपछि मान्छेहरु नारीहरु सबै सबैले
सुन्दर सुन्दर झुम्का, गहना बनाएर मै माथि लट्काउँछन्, झुन्ड्याउँछन्
छेडिनु पनि हामीनै छेडिनु पर्छँ चेहरा कै हुन्छ यहाँ !!!
अझ कुरै नगरौँ श्रृङगार हेर
आँखालाई गाजल अनुहारलाई क्रिम ओँठलाई लिपिस्टिक
आजसम्म हामीले केही मागेका भए भन
न कुनै कवि ,न कुनै गजलकारले आजसम्म
कानकै तारिफ कहिल्यै गरेका छन् त छन् भने भन
यिनका नजरमा आँखा, ओठ र गाला नै सबथोक हुन्
हामी त बस कतै मृत्युभोजमा बँचेकुचेका दुई पुरीया हौँ
जसलाई उठाईयो बस चप्काईयो अनुहारका साइडका दुई भित्तामा
अझ कुरै छोडौँ धेरेैपटक कपालको चक्करमा
घरी घरी काटिनु पर्छ बस, फिट्किरी दलेर पुछिदिन्छन् यहाँ यी मान्छेहरु
बहुत पीडा छन्, कसलाई भनौँ कसलाई सुनाउँ ??
भन्छन् दु:ख बाँडेपछि मन अलिकति हल्का हुन्छ
आँखासँग पोखौँ त उ आँसु चुहाइहाल्छ
नाकसँग पोखौँ त सिँगान झारिदिन्छ
मुखसँग पोखौँ भने हाई हाई गरि कटाइदिन्छ घरी घुँक्क घुक्क गरि रोइदिन्छ बस
अझ के कुरा गर्नु
पण्डितजि को जनै टेलर मास्टरको पेन्सिल
मिस्त्री को बँचेको परागको पोको सब हामी नै सम्हाल्छौ
र आजकल यो नयाँ नयाँ मास्क नि हामी नै झेलिरहेछौँ हामी कान हैनौँ,
पक्का गधा हौँ गधा अझैपनि केही टाँग्न, लट्काउन, झुन्ड्याउन छ भने
ल्याउ, ल्याउ तिमी हामी दुई भाई तयार नै छौँ ।
– जगन्नाथ मरासिनी
यो पनि हेरौ :









