गृहपृष्ठ कविता “बन्दना” ( भुजङप्रयात)
कविता “बन्दना” ( भुजङप्रयात)
सकूँ फाल्न कालो जमेको म भित्र
गरि वन्दना भावना हून् पवित्र
दयाभावका मित्र हून् मात्र ठान्छु ।
मिलेको छ जेजे उही नै म खान्छु ।।१।।
~~~~~~~
सिकाओस यसैले कला लेखनीको
बनोस् एक पाटो कथा जिन्दगीको ।
हटुन दुःख सारा खुशी मात्र छाओस
बनूँ गीत बेग्लै धरा गुन्गुनाओस ।।२।।
~~~~~~~
धरा माथी बस्दै म लेखूँ कहानी
हुँदै सभ्य नारी बनूँ स्वाभिमानी!
खुशीले रमाउन् सबै हुन् इमानी ।।
धराधाममा शान्तिको होस् निशानी ।।३।।
~~~~~~~
निशाकाल फालेर डाकौँ बिहानी
पढी नित्य गीता म फालौं रिसानी ।।
भए दुष्ट बानी स्वयं होस् खरानी
गरे काम दामी हुने भाग्यमानी ।।४।।
~~~~~~
जहाँ हाल जे भो उसैमा म रम्छु
मिठा शब्द लेख्ने कुरामा म गम्छु ।।
फुके चित्तलाई अझै बाँध्न खोज्छु
सँधै शान्त एकान्त मात्रै म रोज्छु ।।५।।
कल्पना अधिकारी भट्टराई सामाखुसी ,काठमाडौं





